काठमाडौं, १२ भदौ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक र आम नागरिकको दैनिकी प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सुरु हुने सबै विश्वविद्यालय परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकारको प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यो निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशनअनुसार भदौ १३ गतेदेखि तालिकाअनुसार सञ्चालन हुने परीक्षाहरू अब स्थगित हुनेछन् । स्थगित भएका परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि भनिएको छ ।
यसैगरी भदौ १२ गतेका लागि तोकिएका परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ ।
मन्त्री पोखरेलले अत्यावश्यक कामबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा सामूहिक कार्यक्रमहरू पनि स्थगित गर्न विश्वविद्यालयहरूलाई अनुरोध गरेका छन् । विपद्बाट प्रभावित विद्यार्थी र अभिभावकसँग विश्वविद्यालय तथा सम्बन्धित शैक्षिक संस्थाले निरन्तर सम्पर्क र समन्वय गर्दै आवश्यक सहयोग तथा सहजीकरण गर्न पनि भनिएको छ ।
त्यस्तै प्रभावित विद्यार्थी र आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्नेछ । विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्न पनि निर्देशनमा उल्लेख छ ।
वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै यी व्यवस्था तत्काल कार्यान्वयन गर्न आवश्यक निर्णय लिन मन्त्री पोखरेलले पदाधिकारीहरूलाई आग्रह गरेका छन् । उनले विपद्को यो कठिन घडीमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राख्नसमेत भनेका छन् ।







