रसुवाको बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाहरूको खोजी गर्न ‘सेतु र्यापिड एप’ भन्ने डिजिटल प्रणाली ल्याइएको छ। यो प्रणाली राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालनमा ल्याएको हो।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार एपमा हराएका व्यक्तिका आफन्तले नाम, ठेगानालगायतका विवरण प्रविष्ट गर्न सक्नेछन्। उनका अनुसार खोजी अभियानमा अन्य निकायका प्राविधिक टोलीहरू समेत परिचालित छन्।
केसीले दिएको जानकारी अनुसार अहिलेसम्म करिब १५ सय फारम दर्ता भएका छन्। तर, ती विवरणहरूलाई कच्चा डेटाका रूपमा मात्रै लिइएको छ, किनभने एउटै व्यक्तिको नाम दोहोरिएको, उद्धार भइसकेका वा शव भेटिएकाहरूको विवरणसमेत फारममा आएको हुन सक्ने बताइएको छ।
यसरी दर्ता भएका फारमहरू भेरिफाइ गर्दै जाँदा हालसम्म ९७७ व्यक्ति हराएको यकिन भएको छ। बाँकी विवरण भने आज साँझसम्म आउने प्राधिकरणले जनाएको छ।







