मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका ६७९ कामदार अझै सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको बाढीले १३ जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्‍याएको छ । आयोजनामा कार्यरत सयौं कामदार सम्पर्कविहीन छन् भने उद्धारका लागि निजी हेलिकप्टरसमेत अवतरण गर्न नसकेपछि राज्यकै समन्वय आवश्यक देखिएको छ ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका ६७९ कामदार अझै सम्पर्कविहीन
Online Khabar

भदौ १२, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीपछि आएका पहिरोका कारण निर्माणाधीन र निर्माण सम्पन्न दुवै प्रकारका आयोजना प्रभावित हुँदा त्यहाँ कार्यरत सयौं कामदार जोखिममा परेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीबाट १३ जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ । ती आयोजनामा कार्यरत ९ सय ३३ जना कामदार प्रारम्भमा सम्पर्कविहीन भएका थिए । इप्पानले दिएको जानकारीअनुसार तीमध्ये २ सय ५४ जनाको उद्धार गरिसकिएको छ । केही कामदारसँग सम्पर्क भए पनि ठूलो संख्याका कामदार अझै सम्पर्कविहीन छन् ।

तत्काल उद्धार आवश्यक पर्ने आयोजना

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले अहिले सरकारी र निजी क्षेत्रका सबैखाले आयोजना प्रभावित भएको बताए । क्षति अपेक्षाभन्दा बढी भएको र उद्धार तथा राहत नै अहिलेको मुख्य काम भएको उनको भनाइ छ । लाङटाङ हाइड्रो, अपर त्रिशूली, त्रिशूली–३ ‘बी’ र चिलिमेलगायतका आयोजनामा तत्काल उद्धार पुर्‍याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए । कतिपय आयोजनाका सुरुङभित्र मानिस फसेको हुन सक्ने आशंका गरिएको छ ।

सडक र सञ्चार सम्पर्क बिहीबारसम्म पूर्णरूपमा विच्छेद भएकाले उद्धार कार्य प्रभावित भएको छ । मोबाइल र टेलिफोन समेत नचल्दा आयोजनाभित्र रहेका मानिस कहाँ र कस्तो अवस्थामा छन् भन्ने यकिन गर्न नसकिएको इप्पानले जनाएको छ । निजी हेलिकप्टर प्रयोग गर्न खोजिए पनि आयोजनास्थलमा अवतरण गर्ने ठाउँ अभाव र प्राविधिक तथा सुरक्षा कारणले समस्या भइरहेको भ्लोनको भनाइ छ ।

अपर त्रिशूली–१ मा ५७६ जनाको अवस्था अज्ञात

प्रभावित आयोजनामध्ये अपर त्रिशूली–१ मा मात्रै ५ सय ७६ जना कामदार सम्पर्कविहीन छन् । सो आयोजनामा करिब १ हजार ३ सय ५० जना कार्यरत रहेकामा केहीको उद्धार भए पनि ठूलो संख्याका कामदारसँग सम्पर्क हुन नसकेको इप्पानले जनाएको छ ।

विशेषगरी सुरुङ वा आयोजना परिसरभित्र रहेका मानिसको उद्धारलाई तत्काल प्राथमिकता दिनुपर्ने अवस्था रहेको इप्पानको भनाइ छ । सुरुङतिर फसेकालाई छिटो निकाल्न सकिए उनीहरूको ज्यान बचाउन सकिने सम्भावना हुने भएकाले हेलिकप्टर परिचालनका लागि निरन्तर प्रयास भइरहेको भ्लोनले बताए ।

उद्धारका लागि राज्यकै समन्वय

निजी क्षेत्रले आफ्नो तर्फबाट उद्धारका प्रयास गरिरहे पनि भौगोलिक विकटता र पहुँचविहीनताका कारण तत्काल काम हुन सकेको छैन । इप्पानले आयोजनामा फसेकाहरूको अवस्थाबारे सरकार, नेपाली सेना र नेपाल प्रहरीलाई निरन्तर जानकारी गराइरहेको बताएको छ । उद्धार तथा राहतका लागि संस्थागत रूपमा सहयोग जुटाउने तयारी पनि भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित आयोजनाका प्रतिनिधिसँग छलफल गरी क्षति र मानवीय अवस्थाबारे विवरण लिइसकेको छ । बाढीपछिको पुनर्निर्माणका लागि बनेको समितिमा इप्पानका तर्फबाट एक सिभिल इन्जिनियरसमेत सहभागी गराइएको छ । अहिले सबैभन्दा महत्त्वपूर्ण काम मानिसको उद्धार भएको र क्षतिको पुनर्निर्माण पछि गर्न सकिने भ्लोनको भनाइ छ ।

निर्माण सम्पन्न आयोजना पनि प्रभावित

बाढीले निर्माणाधीन आयोजना मात्र नभई सञ्चालनमा रहेका आयोजनालाई समेत क्षति पुर्‍याएको छ । केही आयोजनाका भौतिक संरचनामा क्षति पुगेको छ भने कतिपयको प्रसारण लाइन र सडक सम्पर्क विच्छेद भएकाले विद्युत् उत्पादन तथा सञ्चालन प्रभावित भएको छ ।

प्रत्यक्ष क्षति पुगेका आयोजना १३ भए पनि सडक, सञ्चार र अन्य पहुँच विच्छेदका कारण अप्रत्यक्ष रूपमा प्रभावित आयोजनाको संख्या त्योभन्दा बढी हुन सक्ने इप्पानको आकलन छ । इप्पानले आयोजनाबाट प्राप्त विवरण पुनः प्रमाणीकरण गरिरहेको छ ।

थप हेलिकप्टर परिचालन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धार तीव्र पारेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौंबाट प्रभावित क्षेत्रतर्फ पठाएको बताएको छ ।

सुरक्षा निकायसँग समन्वय गरेर आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै हेलिकप्टर घटनास्थलतर्फ पठाइएको प्राधिकरणले जनाएको छ । विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार र शान्तिबजार क्षेत्रका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको छ ।

प्राधिकरणले प्रभावित आयोजनाका कामदारको सुरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राखेको छ । आवश्यकता अनुसार उद्धार तथा राहत कार्य निरन्तर जारी राखिने प्राधिकरणको भनाइ छ । विपद्का बेला आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न सबैलाई आग्रह पनि गरिएको छ ।