मुख्य सामग्रीमा जानुहोस्

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवाको अवधि थप सात दिन बढ्यो

एनसेलले बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि बढाएको छ। कम्पनीले अवरुद्ध १८ टावर पुनः सञ्चालनमा ल्याएको छ भने थप ९ टावर सञ्चालनको काम जारी छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवाको अवधि थप सात दिन बढ्यो
Online Khabar

काठमाडौं, १२ भदौ । एनसेलले बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क सञ्चार सेवाको अवधि लम्ब्याएको छ। कम्पनीले भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनसम्म निःशुल्क उपलब्ध गराउने जनाएको छ। सञ्चार, खोज, उद्धार तथा राहत वितरणका कामलाई सहज बनाउन यो निर्णय गरिएको हो।

नयाँ अवधि शनिबारदेखि लागु हुने कम्पनीले बताएको छ। यसअघि एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रका लागि बुधबार तीन दिने निःशुल्क सेवाको घोषणा गरेको थियो। तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध हुने व्यवस्था गरिएको थियो र सो अवधि शुक्रबार समाप्त हुँदैछ।

विपद्को समयमा सञ्चार सेवाले सूचनाको आदानप्रदान र उद्धार तथा राहत कार्यको समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै एनसेलले प्रभावित समुदायलाई परिवार, आफन्त र उद्धारकर्मीसँग जोड्न यो सुविधा थप गरेको हो।

“हाम्रो यो योगदानले प्रभावित समुदायलाई विपद्का बेला आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।

यसैबीच, बाढीका कारण अवरुद्ध भएका १८ मोबाइल टावरलाई एनसेलले पुनः सञ्चालनमा ल्याएको छ। थप ९ टावरहरू सञ्चालनमा फर्काउने काम पनि भइरहेको कम्पनीले जनाएको छ।

एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सघाउन बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु. १ करोड सहयोग गरेको थियो। साथै, बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशनको पालना गर्न आग्रह गर्दै एनसेलले एसएमएस र आफ्ना सामाजिक सञ्जालका पेज तथा अकाउन्टमार्फत आवश्यक सूचना सम्प्रेषण गर्दै आएको छ।