चीनको केरुङ्ग नाकामा रोकिएका ५७६ नेपाली नागरिकलाई कोदारी नाका हुँदै सकुशल स्वदेश फर्काइएको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि स्थलमार्ग अवरुद्ध हुँदा उनीहरू चीनतर्फ अलपत्र परेका थिए।
चीन सरकारको विशेष सहयोग र सीमा नाकामा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण तथा समन्वयमा उद्धार गरिएका ती नागरिकलाई काठमाडौंतर्फ पठाइएको छ। स्थानीय तह र विभिन्न संघ–संस्थासँगको समन्वयमा उनीहरूका लागि सवारी साधनको व्यवस्था गरिएको थियो।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी नाकाबाट भदौ १८ देखि २२ सम्म उनीहरूलाई नेपाल भित्र्याइएको हो। सो अवधिमा भदौ १८ गते ११४ जना, १९ गते १५५ जना, २० गते ९६ जना, २१ गते १०५ जना र २२ गते १०६ जना नेपाल फर्काइएका छन्।
सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार र आवागमन सहज बनाउन सशस्त्र प्रहरी बल नेपालको तातोपानीस्थित बोर्ड तथा आउटपोस्टबाट १५ जनाको विशेष टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी नायव निरीक्षक भूप बहादुर बुढाथोकीको कमान्डमा रहेको उक्त टोली निरन्तर खटिएको जनाइएको छ।







