डोटी । डोटीका पाँच आधारभूत अस्पताल भवनको निर्माण कार्य वर्षौंदेखि अलपत्र अवस्थामा छ । ठेक्का सम्झौताको म्याद पटक–पटक थपिए पनि भौतिक प्रगति न्यून रहेकाले ती अस्पताल कहिले सञ्चालनमा आउलान् भन्ने अनिश्चितता कायमै छ । सबैभन्दा नाजुक अवस्था बोगटान फुड्सिल गाउँपालिका–२ केदारआखडामा निर्माण भइरहेको १५ शय्याको अस्पताल भवनको छ ।
उक्त भवन निर्माणका लागि गाउँपालिका र सीएम–प्रसन्न जेभीबीच १८ असार २०७८ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २० असार २०७९ भित्रै निर्माण सक्नुपर्ने सर्त थियो, तर अहिलेसम्म जम्मा २६ प्रतिशत काम भएको छ । १६ करोड ८५ लाख ४२ हजार रुपैयाँमा भएको सम्झौताबापत निर्माण व्यवसायीले तीन करोड ९२ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिइसकेका छन् । यो ठेक्काको पाँचौं पटक थपिएको म्याद गत साउनमै सकिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज आवस्थीका अनुसार नियमित ताकेता हुँदा पनि निर्माणले गति लिन सकेको छैन । पालिकाले प्राविधिक टोलीसमेत खटाएर अनुगमन र सहजीकरण गरिरहेको उनले बताए । ठेकेदारको ढिलासुस्ती, भौगोलिक विकटता तथा निर्माण सामग्री ढुवानीमा परेको कठिनाइलाई उनले काम नसकिनुको मुख्य कारण भनेका छन् ।
यो समस्या एउटै पालिकामा सीमित छैन । १५ मंसिर २०७७ मा तत्कालीन सरकारले देशका तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भन्दै एकैसाथ सिलान्यास गरेको थियो । सोही दिन डोटीका सात स्थानीय तहमा अस्पताल भवनको सिलान्यास भएको थियो । तीमध्ये शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाका भवन मात्र निर्माण सम्पन्न भएका छन्, बाँकी पाँच स्थानीय तहका भवन अझै उठ्न सकेका छैनन् ।
केआई सिंह र बडीकेदारको अवस्था
केआई सिंह आधारभूत अस्पतालको १० शय्याको भवन २३ असोज २०७९ भित्र सम्पन्न गर्ने गरी २३ असार २०७८ मा सम्झौता भएको थियो । केएस–तेडी–मनिलेक जेभीले जिम्मा लिएको उक्त भवनको सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि जम्मा २१ प्रतिशत मात्र निर्माण भएको छ । आठ करोड १५ लाख ८५ हजार रुपैयाँ लागत अनुमान गरिएको यो ठेक्का पाँच पटकसम्म म्याद थप भइसकेको छ । ठेकेदारले एक करोड ३१ लाख ८३ हजार रुपैयाँ भुक्तानी लिएको गाउँपालिकाका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए ।
बडीकेदार गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल भवनका लागि धुलिखेल एलबी एण्ड एबी जयश्री बालाजी जेभीसँग ४ असोज २०७८ मा सम्झौता गरेको थियो । २९ मंसिर २०७९ भित्र निर्माण सक्नुपर्ने सर्त भए पनि पाँच वर्षमा भौतिक प्रगति ८५ प्रतिशतमै सीमित छ । यो ठेक्काको म्याद छैटौं पटक थपिएको छ । सात करोड २६ लाख १९ हजार रुपैयाँको ठेक्कामा निर्माण व्यवसायीले हालसम्म छ करोड चार लाख १४ हजार रुपैयाँ लिइसकेको गाउँपालिकाले उपलब्ध गराएको जानकारीमा उल्लेख छ ।
जोरायल र सायलमा पनि सुस्तता
जोरायल गाउँपालिकामा २०८० साल असार मसान्तभित्र निर्माण सक्नुपर्ने १५ शय्याको अस्पताल भवनको काम हालसम्म ११ प्रतिशत मात्र भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टका अनुसार भवन निर्माणको जिम्मा बराह डेभलपर्स प्रालि (साविकको राजेन्द्र निर्माण सेवा) ले १९ साउन २०७८ मा पाएको थियो । कामै नगरी म्याद सकिएपछि १९ साउन २०८२ सम्मका लागि म्याद थपिएको थियो, त्यसयता सम्झौताको म्याद थप भएको छैन । ११ करोड २१ लाख ५८ हजार रुपैयाँको सम्झौतामा ठेकेदारले एक करोड ९६ लाख रुपैयाँ पेश्की लिएको र सो रकम महालेखापरीक्षकको कार्यालयले बेरुजु देखाएको पालिकाले जनाएको छ ।
सायल गाउँपालिकाको १० शय्याको अस्पताल भवन ३० साउन २०८१ भित्र सम्पन्न हुनुपर्ने थियो, तर काम १६ प्रतिशतमै अडिएको छ । टीडीआर कन्स्ट्रक्सन प्रालिले आठ करोड ४६ लाख रुपैयाँमा निर्माण गर्ने गरी ३० साउन २०७८ मा ठेक्का सम्झौता गरी कार्यादेश पाएको थियो । तोकिएको समयमा काम नसकिँदा थपिएको म्याद गत साउन मसान्तमा सकिएको छ । सम्झौताको म्याद समाप्त भएपछि दुई पटक म्याद थप्दा पनि कार्य प्रगति नभएको गाउँपालिकाले जानकारी दिएको छ । ठेकेदारले सो भवनमा १० प्रतिशत पेश्की लिएको छ ।
निर्माण व्यवसायीले ठेक्का सम्झौता गरी पेश्की बुझने तर पेश्की फर्छ्योट नगर्दा पालिकाहरूको बेरुजु बढ्दै गएको छ ।







