मुख्य सामग्रीमा जानुहोस्

अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ जोडियो, समग्र प्रगति ५६ प्रतिशत

म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा बनिरहेको विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार छेडिएको छ । आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत पुगेको र एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ जोडियो, समग्र प्रगति ५६ प्रतिशत
Online Khabar

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ जोड्ने सुरुङ बुधबार ब्रेक थ्रु भएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार सो सुरुङ दुई हजार ५०६ दशमलव ३९ मिटर लामो छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको अडिट धवलागिरि गाउँपालिका–४ छहरीमा अवस्थित छ भने विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन छ । यी दुई संरचनालाई जोड्ने सुरुङ निर्माणले बुधबार पूर्णता पाएको हो ।

छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लास्थित बाँधतर्फ जाने सुरुङ तीन हजार २८३ दशमलव ३२ मिटर लामो हुनेछ । त्यसमध्ये अहिलेसम्म एक हजार ९७३ मिटर खनिएको आयोजना प्रमुख केसीले बताए । बाँकी खण्ड पनि केही महिनाभित्रै सक्ने लक्ष्य राखिएको छ ।

५६ प्रतिशत भौतिक प्रगति

आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ५६ प्रतिशत रहेको र आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख केसीले जानकारी दिए । बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको काम पनि तीव्र पारिएको छ ।

सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरसँग २०८० चैत १९ मा सम्झौता भएको थियो र कम्पनी २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको थियो । ठेकेदारले २०८१ भदौ महिनादेखि मुख्य सुरुङको निर्माण सुरु गरेको हो ।

लगानी र प्रसारण संरचना

आयोजनामा सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी तथा सर्वसाधारणको शेयरमार्फत ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँ लगानी जुटाइएको छ । विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।

भारवाङदेखि एक दशमलव पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा बनाइरहेको १३२ केभी सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाइनेछ ।

रन अफ द रिभर प्रकृतिको यस आयोजनामा आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ १९६ मिटर छ र पानी विद्युत्गृहमा खसाल्न ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिने भएको छ । ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्रालि परामर्शदाता रहेको आयोजनाको मेकानिकल तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया चलिरहेको छ । अपर म्याग्दी–१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ ।

यसैबीच बर्खायाममा निर्माणस्थल आसपास पर्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुल जोखिममा पर्नु र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले अपर म्याग्दी–१ लगायतका जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ ।