मुख्य सामग्रीमा जानुहोस्

जेनजी सहिदका परिवार अब गोल्याण परिवारकै हिस्सा : अक्षय गोल्याण

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान जनाउँदै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश सार्वजनिक गरेका छन् । जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
जेनजी सहिदका परिवार अब गोल्याण परिवारकै हिस्सा : अक्षय गोल्याण
Online Khabar

काठमाडौं, २५ भदौ । गोल्याण ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान जनाउँदै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश सार्वजनिक गरेका छन् । जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गर्नुका साथै सहिद परिवारका सदस्यसँग भेटघाट गराएपछि उनले यो सन्देश लेखेका हुन् ।

जेनजी सहिद स्मृति दिवसको सन्दर्भ सम्झँदै गोल्याणले कार्यक्रममा उपस्थित सहिद परिवारका सदस्यको पीडा अझै ताजै रहेको उल्लेख गरेका छन् । भेलामा सहभागी सबैको अनुहारमा त्यो घटना हिजोमात्रै भएको जस्तो वेदना झल्किएको र बलेका दियोका ज्वालामा तथा मौन अनुहारमा त्यही पीडा महसुस गर्न सकिने उनको भनाइ छ ।

औपचारिक कार्यक्रम सकिएपछि सहिद परिवारसँगको भेटले आफूलाई सोचमग्न बनाएको उनले बताएका छन् । आँसुका बीच पनि त्यो कोठामा आत्मीयता र न्यानोपन भएको, चिरपरिचित जस्तो सहजता झल्किएको र वर्षभर भएको निरन्तर भेटघाट, बालबालिका पढ्ने विद्यालयको भ्रमण तथा कुराकानीका कारण आफूहरू अपरिचित नरहेको उनले जनाएका छन् । कार्यक्रमस्थलमा देखिएको त्यही आत्मीयता आफूहरूका लागि सबैभन्दा ठूलो सम्मान भएको पनि उनको भनाइ छ ।

वृत्ति र स्वास्थ्य बीमा

अक्षयको नेतृत्वमा रहेको गोल्याण ग्रुपले सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनमार्फत सहिदका सन्तानलाई कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गर्दै आएको छ । वृत्तिमा नसमेटिएका सहिद परिवारका बुवाआमाका लागि भने वार्षिक १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिएको छ ।

फाउण्डेशनले घोषणा भएको एक वर्षभित्रै आफ्नो प्रतिबद्धता कार्यान्वयन गरेको जनाएको छ । हाल २२ सहिदका ३१ जना बालबालिकाले शैक्षिक वृत्ति पाइरहेका छन् । उनीहरूका लागि फाउण्डेशनले प्रतिव्यक्ति मासिक ४० हजार रुपैयाँका दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च गरिरहेको छ ।

त्यसैगरी २२ सहिदका ४३ जना बुवाआमा स्वास्थ्य बीमामा आबद्ध छन् । पहिलो वर्षमै बीमा दाबीबापत करिब ८ लाख रुपैयाँ भुक्तानी भएको फाउण्डेशनको भनाइ छ ।

सहिद परिवारसँगको सहकार्यले उनीहरूलाई गोल्याण परिवारकै हिस्सा बनाएको उनले बताएका छन् । सहिदका छोराछोरी आफ्ना पनि छोराछोरी र उनीहरूका बुवाआमा आफ्ना पनि बुवाआमा भएको उल्लेख गर्दै गोल्याणले सम्मान, जिम्मेवारी र सहिदको बलिदानलाई कहिल्यै नबिर्सने प्रतिबद्धतासहित यो यात्रा सँगसँगै अघि बढाइरहेको जनाएका छन् ।

सहिद परिवारसँगको एक वर्षको सम्बन्धले दुवै पक्षलाई एउटै परिवारको आकार दिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सँगै अघि बढ्ने प्रतिबद्धता दोहोर्याएका छन् ।