विश्व क्रिकेटका सर्वकालीन महान् खेलाडीहरूमध्ये एक ग्यारी सोबर्सको शुक्रबार निधन भएको छ। वेस्ट इन्डिजका पूर्व अलराउन्डर ८९ वर्षका थिए। उनले सन् १९४५ देखि १९७४ सम्म ९३ टेस्ट खेल्दै ८ हजार ३२ रन बनाएका थिए भने २ सय ३५ विकेट पनि लिएका थिए।
बायाँ हाते ब्याटर सोबर्सले सन् १९५८ मा पाकिस्तानविरुद्ध बनाएको ३ सय ६५ रनको नटआउट इनिङ्सले ३६ वर्षसम्म टेस्ट क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान कायम गरेको थियो। उनले इङ्ल्यान्डमा नटिङ्घमसायरका लागि काउन्टी क्रिकेट पनि खेलेका थिए।
विजडन क्रिकेटर्स अल्मानाकले उनलाई २० औं शताब्दीका उत्कृष्ट पाँच खेलाडीको सूचीमा राखेको थियो। वेस्ट इन्डिज क्रिकेट बोर्डले सोबर्सप्रति श्रद्धाञ्जली पोख्दै भनेको छ, 'एउटा महान् इनिङ्सको अन्त्य भएको छ।'






