मुख्य सामग्रीमा जानुहोस्

कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा नेकपाको मतदान गर्ने निर्णय

नेकपा कर्णाली संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ। संघमा भइरहेको सत्ता समीकरणको छलफलले प्रदेशको निर्णयमा प्रभाव नपार्ने दलको भनाइ छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पक्षमा मतदान गर्ने निर्णय गरेको छ। नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बिहीबार बिहान बसेको बैठकले यो निर्णय गरेको हो।

यसअघि नै नेकपा र नेपाली काँग्रेसका १६ जना सांसदहरूले प्रदेश सभामा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन्। आफ्नो पूर्ववत् सहमतिअनुसार नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए। उनका अनुसार अब निर्णय परिवर्तन गर्ने सम्भावना छैन।

संघमा नेकपा एमाले र नेकपाबीच प्रदेशमा सत्ता समीकरणका लागि छलफल चलिरहेको बताइएको छ। तर, नेकपा कर्णाली संसदीय दलले काठमाडौंका छलफललाई आधार नमान्ने जनाएको छ। प्रमुख सचेतक जिसीले भने, 'पार्टीले आधिकारिक निर्णय गर्यो भने हामी त्यो निर्णय मान्छौं। तर, छलफल चल्दैमा प्रदेशमा हाम्रो निर्णय फेरिँदैन।' उनले छलफल गगन थापासँग पनि भएको उल्लेख गर्दै पार्टीको स्प्रीट सर्वदलीय सरकारको रहेको बताए।

कर्णालीमा गत बिहीबार नेपाली काँग्रेस र नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। नयाँ मुख्यमन्त्रीको लागि काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ।