रसुवाको बाढीले घर, बस्ती, बाटो, पुल र बजारसँगै कतिपय परिवारका सदस्यहरूको सम्पर्क पनि विच्छेद गरिदिएको छ। उद्धार गरिएका घाइतेहरू काठमाडौंका विभिन्न अस्पतालमा पुर्याइए पनि आफन्तलाई आफ्नो मान्छे कुन अस्पतालमा छ भन्ने निश्चित छैन। कतिपय आफन्त अस्पतालको वेबसाइट र घाइतेको सूचीमा नाम खोज्दै छन्, कतिपय एउटा अस्पतालबाट अर्को अस्पताल धाइरहेका छन्।
ट्रमा सेन्टरमा २० घाइते
राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार हालसम्म २० जना घाइते उपचारका लागि आएका छन्। तीमध्ये एक जना डिस्चार्ज भइसकेका छन् भने एक जनाको शल्यक्रिया गरिएको छ। निरौलाका अनुसार बाँकी घाइतेको अवस्था सामान्य छ।
अस्पतालले घाइतेको नामावली वेबसाइट र सामाजिक सञ्जालमा राखिरहेको छ। आफन्तले विवरण हेरेर आफ्नो मान्छेबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको उनले बताए। बिरामी भेट्न आउने आफन्तलाई सुरक्षा व्यवस्थापनको सहयोगमा बिरामीसम्म पुर्याउने काम भइरहेको छ। विपद्को सूचना पाउनासाथ अस्पतालको टोली अलर्ट हुने र त्यसअनुरूप यसपटक पनि उपचार व्यवस्थापन सक्रिय बनाइएको निरौलाको भनाइ छ। उनका अनुसार अहिले बेडको अभाव छैन र घाइतेको उपचार निःशुल्क भइरहेको छ।
शिक्षण अस्पतालमा ४१ घाइते, नौ शवको पहिचान बाँकी
त्रिवि शिक्षण अस्पतालमा ४१ जना घाइते उपचाररत छन्। अस्पतालले घाइतेको अवस्थाअनुसार हरियो, पहेँलो र रातो क्षेत्रमा वर्गीकरण गरेर उपचार गरिरहेको छ। पाँच वर्षका बालबालिकादेखि करिब ५० वर्ष उमेरका व्यक्ति उपचारका लागि आएका छन्। कतिपयको अवस्था गम्भीर छ र दुई जना भेन्टिलेटरमा छन्।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहीबार बेलुकीसम्म बाढी प्रभावितमध्ये १० जनाको शव अस्पताल ल्याइएको छ। तीमध्ये एक जनाको मात्र पहिचान खुलेको छ भने नौ जनाको पहिचान हुन सकेको छैन। शवहरू फोरेन्सिक विभागमा राखिएका छन्। अधिकांश शवमा गहिरा चोट, सुन्निएको अवस्था, माटोले पुरिएको र पानीमा भिजेको भएकाले प्रत्यक्ष पहिचान गर्न कठिन भएको उनले बताए। पहिलो चरणमा शवको फोटो सार्वजनिक गरेर आफन्तबाट पहिचान गराउने प्रयास भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोपाल सेढाईंले एकैपटक धेरै घाइते आउँदा अस्पतालले उपचारसँगै संक्रमणको जोखिम पनि ध्यान दिनुपर्ने बताए। घाइतेसँग धेरै आफन्त उपचार स्थलमा राख्दा संक्रमण फैलिन सक्ने र गम्भीर बिरामीमा थप समस्या आउन सक्ने उनको भनाइ छ। उद्धार कार्य जारी रहेकाले थप घाइते आउन सक्ने अनुमान गर्दै अस्पतालले बिदाका दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पालो मिलाएर खटाउने तयारी गरेको छ। सरकारले विपद्का घाइतेको निःशुल्क उपचार गर्ने भने पनि आवश्यक उपकरण र उपचार सामग्री व्यवस्थापनमा चुनौती देखिएको चिकित्सकहरू बताउँछन्।
यसैबीच, काभ्रे घर भएका दिनेश श्रेष्ठ पनि बाढीपछि सम्पर्कविहीन छन्। उनका आफन्त कहिले वीर, कहिले ट्रमा त कहिले त्रिवि शिक्षण अस्पताल पुगिरहेका छन्। अस्पतालको सूची र वेबसाइटमा नाम नभेटिएपछि उनीहरू एकपछि अर्को अस्पतालको गेटमा पुग्नुबाहेक विकल्प नभएको बताउँछन्। दशैंका लागि भन्सारबाट सामान ल्याउन गएका उनको अत्तोपत्तो नभए पनि आशा भने नमारेको आफन्तको भनाइ छ।
उपचार कक्षभित्र चिकित्सकहरू जीवन बचाउन खटिरहेका छन् भने अस्पतालको गेटबाहिर आफन्तहरू आफ्नो मान्छे जिउँदो छ कि छैन भन्ने खबर पर्खिरहेका छन्। बाढीले धेरै कुरा बगाए पनि अस्पताल अहिले धेरै परिवारका लागि आशाको केन्द्र बनेको छ।







