११ भदौं, बट्टार । नुवाकोटको बट्टार बजारस्थित श्री नं. १ सैन्य तालिम केन्द्र जाने सडकका दुवै किनारा बिहीबार बिहानदेखि मानिसले भरिएका छन् । रसुवातर्फबाट उद्धार गरेर ल्याइएका हेलिकप्टरलाई हेर्दै बाढीमा बेपत्ता आफन्त खोज्नेहरूको भिड सैन्य तालिम केन्द्रतिर सोझिन्छ । हेलिकप्टरबाट आफन्त नआएपछि उनीहरू पुनः सडक किनारमा फर्कने गरेका छन् ।
त्रिशूली हाइड्रोमा काम गर्ने श्रीमान् बाढीपछि सम्पर्कविहीन भएको भन्दै सविता अधिकारी पनि यही भिडमा छिन् । हरेक हेलिकप्टरबाट मानिस ओर्लिएपछि उनी आफ्ना श्रीमान् छन् कि भनेर हेर्छिन् । नपाएपछि निराश भएर पहिले बसेकै ठाउँमा फर्किन्छिन् । उनका आफन्तहरू त्यहाँ उनको सहजीकरण गरिरहेका छन् । हेलिकप्टरबाट कतिपयलाई स्ट्रेचरमा झारिएको र कतिपयलाई पोको पारेर ल्याइएको देख्दा भिडमा अन्य व्यक्तिहरूले अनेक अनुमान लगाउने गरेको छ ।
तैपनि अधिकारीको आशा मरेको छैन । त्रिशूली हाइड्रोका कर्मचारी टनेलभित्र छिरेका र सेना उद्धारका लागि त्यहाँ पुगिसकेको कुरा उनले सुनेकी छन् । अरू सर्वसाधारणले पनि बिहान सेना पूरै उपकरणसहित पुगेको हल्ला सुनाउँछन् । यस्ता कुराले उनमा आशा जगाउँछ तर निसास्सिए पो सक्यो कि भन्ने चिन्ताले पनि सताइरहन्छ । पहिले श्रीमान्ले भिडियोकलमार्फत देखाउने गरेको सुरुङ अहिले लेदोले पुरिएको छ भन्ने सुन्दा उनको मन बेचैन छ ।
यही क्रममा उक्त हाइड्रोका मालिक पनि भित्रै आएको उनले सुनिन् । सुन्नासाथ उनी सैन्य तालिम केन्द्रको गेटमा पुगिन् र मालिकलाई भेट्न दिनुपर्ने भन्दै सैनिकसँग याचना गरिन् । रुँदै उनले आफूलाई भेट्न दिन अनुरोध गरेपछि एक आफन्तसहित उनलाई भित्र छिराइयो । सुरुङभित्रै लुकेर बस्दा सम्पर्कमा आउन नसकेको हुनसक्ने र जतिसक्दो छिटो सेनाले उद्धार गरोस् भन्ने उनको कामना छ ।
सैन्य तालिम केन्द्र अगाडि ७४ वर्षीय पदम बहादुर कँडेल पनि भेटिए । नुवाकोटको नहर दह गाउँबाट उनी यहाँ आएका हुन् । उनका जेठी सासुका छोरा खलप्रसाद तिमिल्सिना रसुवा बाढीमा अलपत्र भएका छन् । हेलिकप्टर दुई–दुई मिनेटमा आइरहे पनि आफ्नो मान्छे नआएको उनले गुनासो गरे । यो उमेरमा आएर यस्तो देख्नुपरेको भन्दै उनी भावुक बनेका छन् ।
सैन्य तालिम केन्द्रअगाडि भेटिएका अर्का दुई व्यक्ति मृतकका मामा हुन् । मामा बासुदेव रिजाल नुवाकोटकै तादीबाट आएका हुन् । उनका भान्जा सूर्यगढी–५ का बासिन्दा हुन् । भान्जा गोसाइकुन्ड ट्रेकिङको लागि निस्केका थिए । यात्राको आधा बाटोसम्म बसमै जाने योजना थियो र बसमा करिब ११ जना साथी थिए । बेत्रावतीतिर पुग्दा बाढीले बस छोपेपछि भान्जासहित एक साथी एउटा घरको छतमा चढ्न भ्याएका थिए । लगत्तै उनीहरूले घरमा फोन गरेर घर ढले आफूहरू नबाँच्ने बताएको रिजालले सुनाए । एकैछिनमै बाढीले लगेको उनको बुझाइ छ । लास नै भए पनि भेटिन्छ कि भनेर हिजो नै सेना र प्रहरीलाई जानकारी गराइएको रिजालले भने । ‘अब न आश, न सास’ भन्दै उनको गला अवरुद्ध भएको थियो ।
बट्टार बजार आफैं प्रभावित, विद्यार्थीसमेत अलपत्र
आफन्तको खोजी गर्न आउनेहरूको सहारा बनेको बट्टार बजार आफैं पनि बाढीको मारमा परेको छ । यहाँ वारि र पारीका मानिस एकअर्काका गाउँमा अलपत्र छन् । नुवाकोटकै पन्चलिंगे माविका विद्यार्थी पनि यही समस्यामा परेका छन् । फुटसल खेल्न विदुरतर्फ आएका उनीहरू बाढीपछि यतै थुनिएका हुन् । कतिपय वारि र पारीका विद्यार्थी अर्कोतिर रोकिएका छन् । सेनाको हेलिकप्टरले उनीहरूलाई वारिपारि पुर्याउने प्रयास गरेको छ । यसकै लागि विद्यार्थीहरूलाई सैन्य तालिम केन्द्रबाट निकालिएको देखिन्छ ।
एक विद्यार्थीका अनुसार उनीहरू हिजो फुटसल खेल्न यता आएका थिए र घरमा आत्तिइसकेको हुन्छ । जसोतसो बाँचिएकाले अब कहिले घर पुगिन्छ भन्ने चिन्ता उनको छ । सेनाले हेलिकप्टरमा लग्ने बताएको उनले सुनाए ।







