१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रका बैंक शाखाहरूलाई समेत प्रभावित बनाएको छ । सो क्षेत्रमा रहेका सात बैंकका शाखामा कार्यरत २७ कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका छन् । बुधबार बिहान आएको बाढीमा परी उनीहरू सम्पर्कविहीन भएको बताइएको छ ।
बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बिहीबार अबेरसम्म पनि ती कर्मचारीसँग सम्पर्क हुन सकेको छैन । बैंक तथा कर्मचारीको तर्फबाट भइरहेको प्रयासका बावजुद उनीहरूको अवस्था थाहा हुन नसकेको उनले बताए ।
हाम्रो तहबाट प्रयास भइरहेको छ, तर सम्पर्क हुन सकेको छैन । बिहीबार अबेरसम्म सात बैंकका शाखामा कार्यरत २७ कर्मचारीसँग सम्पर्क भएको छैन ।
बाढीले विभिन्न बैंकका नौ वटा शाखा कार्यालयमा पूर्ण क्षति पुर्याएको छ । टिमुरे, स्याफ्रुबेँसी लगायतका क्षेत्रमा रहेका शाखाहरू प्रभावित भएका छन् । सम्पर्कविहीन कर्मचारीहरू पनि सोही क्षेत्रमा कार्यरत रहेको कोइरालाले जानकारी दिए ।
सम्पर्कविहीन कर्मचारीमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका छन् । सो बैंकका सात कर्मचारी सम्पर्कविहीन छन् । त्यस्तै माछापुच्छ्रे बैंकका पाँच, प्रभु बैंकका पाँच, एनएमबी बैंकका चार, लक्ष्मी सनराइज बैंकका तीन, सानिमा बैंकका दुई र हिमालयन बैंकका एक जना कर्मचारीसमेत सम्पर्कविहीन अवस्थामा छन् ।
कोइरालाका अनुसार क्षतिग्रस्त शाखाहरूमा भएको भौतिक क्षतिको विवरणसमेत निकाल्न नसकिएको अवस्था छ । बिहीबार भौतिक क्षतिको विवरण संकलन गर्ने प्रयास गरिए पनि सम्भव नभएको उनले बताए । शाखाहरूबाट विवरण आउन बाँकी रहेकाले प्रमाणीकरणकै काम भइरहेको छ ।
ती शाखामा लकर थियो कि थिएन, भल्टमा कति रकम थियो र बाढीमा कति बग्यो भन्ने यकिन हुन नसकेकाले क्षतिको अनुमान गर्न नसकिने कोइरालाको भनाइ छ ।







