१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीपछि नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति विश्व खेलकुद समुदायले सहानुभूति देखाएको छ। युरोपका फुटबल क्लबदेखि भारतका आईपीएल फ्रेन्चाइज र विभिन्न अन्तर्राष्ट्रिय खेल संस्थासम्मले सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममार्फत नेपालका प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन्।
स्पेनिस ला लिगा च्याम्पियन एफसी बार्सिलोनाले आफ्नो आधिकारिक एक्स पेजमार्फत उद्धार तथा राहत कार्यमा संलग्न सबैप्रति सम्मान प्रकट गर्दै कठिन घडीमा नेपाली जनतासँग एकजुट रहेको सन्देश दिएको छ। बार्सिलोना र एथ्लेटिक क्लबबीच गएराति भएको खेल सुरु हुनुअघि बाढीपीडितको सम्झनामा मौनधारणसमेत गरिएको थियो।
अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडले पनि एक्समार्फत संवेदना व्यक्त गर्दै बाढीपीडित परिवारप्रति गहिरो दुःख प्रकट गरेको छ। क्लबले ‘स्टे स्ट्रङ, नेपाल’ भन्दै प्रभावित समुदायका लागि शक्ति र साहसको कामना गरेको छ।
भारतका आईपीएल क्लबहरू पनि यस घडीमा नेपालको पक्षमा उभिएका छन्। राजस्थान रोयल्सले एक्स र इन्स्टाग्राम दुवै माध्यमबाट सहानुभूति सन्देश सार्वजनिक गरेको छ। चेन्नई सुपर किङ्सले जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको जनाउँदै बाढीपीडितप्रति सहानुभूति व्यक्त गरेको छ।
कोलकाता नाइट राइडर्सले एक्समार्फत बाढीपीडित परिवारप्रति संवेदना जनाउँदै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीलाई सलाम गरेको छ। त्यस्तै, सनराइजर्स हैदराबादले पनि प्रभावित नागरिकको सुरक्षाको कामना गर्दै नेपालसँग ऐक्यबद्ध रहेको जनाएको छ।
फुटबल र क्रिकेट क्लबबाहेक विश्व खेलकुदसँग सम्बन्धित विभिन्न खेलाडी र संस्थाले पनि एक्समार्फत नेपालका लागि प्रार्थना र समर्थनका सन्देश सार्वजनिक गरेका छन्।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ र त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक विनाश निम्त्याएको छ। यस बाढीमा सयौँ मानिसको मृत्यु भएको र ठूलो संख्यामा मानिस बेपत्ता भएको अवस्था छ।







