काठमाडौं, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने खतरा देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतका काममा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी गएको भोटेकोशी क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको छ। यसले थप बाढीको जोखिम बढाएको छ। भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति र विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई सुरक्षित स्थानतर्फ लाग्न प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत खतराको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान र नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन भनिएको छ। साथै, जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न र भोटेकोशी तथा त्रिशूली नजिकका खतरा क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।







