मुख्य सामग्रीमा जानुहोस्

पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढीपीडितको उद्धार तथा राहतमा जुट्न आह्वान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका बाढीपहिरोपीडितको तत्काल उद्धार र राहतमा जुट्न आग्रह गरेकी छन् । उनले विपद्बाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारमा समवेदना व्यक्त…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढीपीडितको उद्धार तथा राहतमा जुट्न आह्वान
Online Khabar

काठमाडौं, भदौ १२ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवा क्षेत्रसहित भोटेकोशी नदी वरपरका बाढी तथा पहिरोपीडितको छिटोभन्दा छिटो उद्धार, राहत र पुनःस्थापनाका लागि आग्रह गरेकी छन् ।

भण्डारीले प्राकृतिक विपद्का कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । यसका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था र आम नागरिक सबै लागिपर्नुपर्ने उनको आग्रह छ ।

उनले प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री तुरुन्तै पुर्‍याउनुपर्ने र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्नुपर्ने सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।

विपद्को यो कठिन समयमा प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्‍याउन सबै पक्ष एकजुट भएर मानवीय सेवामा अग्रसर हुनुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीले जोड दिइन् । उनले बेपत्ता नागरिकको खोजी र उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच थप समन्वय हुनुपर्ने बताएकी छन् ।

यस्तै, विपद्मा परेर ज्यान गुमाएकाप्रति पूर्वराष्ट्रपतिले श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।