मुख्य सामग्रीमा जानुहोस्

बाढीमा बेपत्ता आफन्तको खोजीमा शिक्षण अस्पतालमा आफन्तहरू

बुधबार भोटेकोशी र त्रिशूलीमा आएको बाढीमा परी सम्पर्कविहीन भएकाहरूको खोजीमा आफन्तहरू त्रिवि शिक्षण अस्पताल पुगिरहेका छन्। अस्पताल परिसरमा हराएकाको फोटो टाँसिएको छ भने एम्बुलेन्स आउनासाथ आफन्तहरू झुम्मिने गरेका छन्।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढीमा बेपत्ता आफन्तको खोजीमा शिक्षण अस्पतालमा आफन्तहरू
Online Khabar

बुधबार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएकाहरूको खोजीमा शुक्रबार पनि आफन्तहरू महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगे। बाढीपछि सम्पर्कविहीन भएका आफन्त उपचाररत बिरामीको सूचीमा भेटिने आसमा उनीहरू अस्पताल परिसरमा दिनभर भौतारिएका छन्।

हेटौंडाकी रजिना थिङ शुक्रबार दिउँसो मामाको फोटोसहितको पोस्टर बोकेर शिक्षण अस्पताल पुगेकी थिइन्। उनका मामा ४१ वर्षीय दुर्गा लामा डिमडुङ ड्राइभर हुन्। बाढी आउँदा उनी टिमुरेमा रहेका थिए। त्यसयता दुर्गासँग कुनै सम्पर्क हुन नसकेको रजिनाले बताइन्। उनका अनुसार दुर्गाको अन्तिम स्थान टिमुरे बजार देखिएको थियो, तर त्यसपछि उनको कुनै जानकारी नआएको हो।

कागेश्वरी मनोहराका सुरज नगरकोटी पनि दाइलाई भेटाउने आसमा शुक्रबार शिक्षण अस्पताल पुगे। उनका दाइ ३९ वर्षीय अर्जुन नगरकोटी गाडी चालक हुन्। बाढीमा उनीसँगै ३५ वर्षीय लक्ष्मण श्रेष्ठ पनि बेपत्ता भएका छन्। सुरजका अनुसार दुवै जनाले गाडी चीन पुर्याएर टिमुरेको होटलमा बसेका थिए, तर बुधबारको बाढीपछि उनीहरू सम्पर्कमा आएका छैनन्। आफूले त्रिविसँगै राष्ट्रिय ट्रमा सेन्टर र छाउनी अस्पतालमा समेत खोजी गरिसकेको उनले बताए।

सिन्धुलीका ३१ वर्षीय लालबहादुर पण्डित रसुवाको स्याफ्रुबेंसीमा मिस्त्रीको काम गर्दै आएका थिए। बुधबार बिहानदेखि उनी सम्पर्कविहीन रहेको आफन्त दिपिका मगरले बताइन्। उनको खोजीमा परिवार लागे पनि हालसम्म कुनै खबर आउन नसकेको उनको भनाइ छ।

त्यस्तै, दोलखाका ४० वर्षीय सिताराम श्रेष्ठ पनि बाढीमा बेपत्ता भएका छन्। यात्रु लिएर रसुवा गएका ड्राइभर सितारामको खोजीमा उनका ससुरा शुक्रबार दिउँसो शिक्षण अस्पताल पुगे। अस्पतालमा उपचाररत बिरामीको सूचीमा उनले ज्वाइको नाम खोजे, तर भेटिएन।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ बाह्रबिसेका ढालबहादुर खड्का पनि २७ वर्षीय छोरा देवेन्द्र खड्काको खोजीमा अस्पताल परिसरमा भेटिए। सामान बोक्ने गाडी चलाउने देवेन्द्र नेपाल–चीन नाकामा सामान लिन गएका थिए। सामान लिने लाइनमा रहेका उनी त्यसपछि सम्पर्कमा आएका छैनन्। छोरा सम्पर्कमा नआएको सबैलाई खबर गरिए पनि कुनै जानकारी नआएको ढालबहादुरले बताए।

पछिल्ला तीन दिनदेखि शिक्षण अस्पतालमा बेपत्ताका आफन्तहरूको भीड नै लाग्ने गरेको छ। आफन्तहरू सुरुमा उपचाररत बिरामीको सूची केलाउँछन्, नाम नभेटिए सहायता कक्षमा हराएकाको विवरण बुझाउँछन्। एम्बुलेन्स अस्पताल आउनासाथ आफन्तहरू त्यता झुम्मिने गरेका छन्।

खोजीका लागि आफन्तहरूले बेपत्ता भएकाहरूको फोटोसहितको विवरण अस्पताल परिसरमा टाँसेका छन्। यसले बेपत्ता व्यक्ति भेटिन सहयोग पुग्ने उनीहरूको विश्वास छ।