काठमाडौँ, १२ भदौ । एसियाली विकास बैंक (एडीबी) ले भोटेकोशी नदीमा १० भदौमा आएको बाढीबाट प्रभावितको उद्धार र राहतका लागि करिब ७६ करोड रुपैयाँ अर्थात् ५० लाख अमेरिकी डलरको आपतकालीन अनुदान दिने भएको छ ।
बैंकले शुक्रबार प्रेस विज्ञप्तिमार्फत यो अनुदान ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’बाट उपलब्ध गराउने जानकारी दिएको छ । अनुदान रकम तत्काल खोज तथा उद्धारदेखि राहतका काममा प्रयोग गरिने बताइएको छ ।
सोही बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ । हालसम्म ५ सय ५३ जनाको शव फेला परेको छ भने हजारौं मानिस सम्पर्कविहीन रहेको अनुमान छ ।
एडीबीका अध्यक्ष मासातो कान्दाले यस्तो विपद्को घडीमा बैंक नेपालको साथमा रहेको बताएका छन् । नदी किनारका परिवारले आफ्ना प्रियजन, घर र आधारभूत सेवा गुमाएको उल्लेख गर्दै उनले सहयोगका लागि पर्खन नसकिने र क्षतिको पूर्ण विवरण आउन नपाए पनि तत्काल राहत जुटाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
यो अनुदानले पीडित परिवारलाई तत्काल खाद्यान्न, स्वच्छ खानेपानी, अस्थायी बासस्थान, औषधि र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन मद्दत पुग्ने उनको भनाइ छ ।
अनुदान कसरी खर्च हुने ?
एडीबीका अनुसार यो रकम खोज तथा उद्धारका लागि आवश्यक उपकरण खरिद, औषधि र स्वास्थ्य सामग्री वितरण, खाद्यान्न आपूर्ति, स्वच्छ खानेपानीको व्यवस्था, अस्थायी बासस्थान निर्माण, सरसफाइ तथा स्वच्छता सामग्री, बाढीले थुपारेका भग्नावशेष पन्छाउने र आपतकालीन अस्थायी पुनर्स्थापनाका काममा खर्च गरिनेछ । व्यवस्थापकीय र ढुवानीका काममा पनि यही रकम प्रयोग हुने जनाइएको छ ।
यसैगरी, एडीबीले भविष्यमा हुने पुनर्निर्माणका लागि थप सहयोगको तयारी अघि बढाएको छ । विपद्पछिको आवश्यकता आकलन, पुनर्स्थापना योजना र पुनर्निर्माणका लागि आवश्यक लगानीको पूर्वतयारी गर्न विपद् प्रतिकार्य कोषको दोस्रो विन्डोमार्फत थप १ लाख ५० हजार डलरसम्मको सहायता प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।
एडीबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्र संघीय निकाय र अन्य विकास साझेदारसँग निकट समन्वय गरेर काम गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।







