मुख्य सामग्रीमा जानुहोस्

चालीस–पचास विद्यार्थीसहित सुरक्षित उद्धार, १५ जना अझै पर्खाइमा

बाढीपछि तेस्रो दिनमा उद्धार भएर बट्टार आइपुगेका समूहसँगका ४०–५० विद्यार्थी र कर्मचारी सुरक्षित छन्। तर, १५ जना विद्यार्थी अझै पनि उद्धारको पर्खाइमा रहेका छन्। उद्धारका लागि सेनासँग आग्रह गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
चालीस–पचास विद्यार्थीसहित सुरक्षित उद्धार, १५ जना अझै पर्खाइमा
Online Khabar

बाढी प्रभावित क्षेत्रबाट आज तेस्रो दिनमा उद्धार भएर बट्टार आइपुगेकाहरू सुरक्षित रहेका छन्। उनीहरूसँग भएका करिब ४०–५० विद्यार्थी र विद्यालयका कर्मचारीहरू पनि अहिले सुरक्षित अवस्थामा रहेको बताइएको छ। तर, अझै १५ जना विद्यार्थी उद्धारको पर्खाइमा रहेका छन्।

उद्धार भएका एक व्यक्तिका अनुसार विद्यालयबाट भाग्दा उनीहरू डाँडातिर उक्लिएका थिए। त्यसपछि बाढीका कारण सम्पर्क नै टुट्यो। उनीहरूले त्यहीँ बसेर कठिन समय बिताए। अहिले सबैजना बच्चाहरूसहित उद्धार भइसकेको उनले बताए।

उद्धारको पर्खाइमा रहेका विद्यार्थीहरू बिदुर नगरपालिका वडा नम्बर ९ मा रहेका छन्। अस्पताल नजिकैको थ्रीडी ग्राउन्डमा हेलिकप्टरले मान्छे राख्ने तथा ल्याउने गरिरहेको छ। उनीहरू त्यहीँ आकाशमा हेलिकप्टर हेरेर बसेको उनले सुनाए। 'सकेको छिटो सबैको उद्धार गर्न सबैले पहल गरौँ,' उनले भने।

उनले उद्धारका लागि सेनालाई जानकारी गराइसकेको बताए। सेनाले आज उद्धार सम्भव नभए पनि भोलि दिनभरमा गरिने आश्वासन दिएको छ। विद्यार्थीहरू १६ वर्ष माथिका रहेको उनले जानकारी दिए।

आफूसँग काम गर्ने दुई जना कर्मचारी — शिक्षक सन्तोष परियार र एक कार्यालय सहयोगी — सम्पर्कविहीन रहेको उनले बताए। केही विद्यार्थी अभिभावकसम्म पुग्न बाँकी छन्। जसको घर बगाएको छ, उनीहरूको अवस्थाबारे जानकारी हुन नसकेको उनले भने।

बट्टार पुगेकाहरूको अहिले रक्तचापलगायत सामान्य स्वास्थ्य जाँच भइरहेको छ। जटिल बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ भने एम्बुलेन्स पनि काठमाडौं गइरहेका छन्। यहाँ राहत सामग्री पनि थुप्रिएको छ। तर, हिजो उनीहरू खान नपाउने अवस्थामा रहेको उनले स्मरण गरे।

उनले अहिलेको अवस्थामा राज्यको सक्रियता ठिकै रहेको र ढिलो उद्धार भयो भन्ने नलागेको बताए। बाँचेकाहरू आफैंले खानपिनको जोहो गरे पनि खोलामा फसेका, बाटोमा फसेका र लाश रहेका ठाउँमा उद्धार तथा रेस्क्यु गर्नुपर्ने उनको सुझाव छ।