बुधबार बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्याएको छ। यस बाढीका कारण नदी किनारका दर्जनौं बस्ती, सडक, पुल, भन्सारका संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आइनसके पनि रसुवा, नुवाकोट, धादिङ हुँदै मुग्लिनसम्मको तटीय क्षेत्र तहसनहस भइसकेको छ।
बाढीअघिसम्म व्यस्त र गुल्जार देखिने बजारहरू अहिले बगरमा परिणत भएका छन्। विभिन्न स्थानका पहिले र अहिलेका अवस्था हेर्दा बाढीको भयावहता प्रस्ट हुन्छ।
प्रभावित बजारहरू
रसुवागढी नाका : चीनसँगको व्यापारिक आवागमनको मुख्य मार्ग रसुवागढी क्षेत्रमा बाढीले ठूलो असर पारेको छ। रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बाढीले बगाएको छ। भन्सार यार्ड र आसपासको बजार क्षेत्र बगरमा परिणत भएका छन्।
स्याफ्रुबेँसी : टिमुरेपछि सबैभन्दा धेरै क्षति स्याफ्रुबेँसी बजारमा भएको छ। यहाँका घर, होटल, पसल, प्रहरी चौकी र मुख्य सडक पूर्ण रूपमा बगेका छन्। पर्यटक बसलगायत धेरै सवारी साधन बाढीले बगाएको छ भने होटलमा बसेका पर्यटकहरू अलपत्र परेका छन्। स्थानीयका अनुसार ड्याम फुटेर आएजस्तो बाढीले स्याफ्रुबेँसी–टिमुरे सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ। बेत्रावतीमा पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने घरहरूमा क्षति पुगेको छ।
त्रिशूली बजार : नुवाकोटको त्रिशूली बजारमा बाढीले व्यापक विनाश मच्चाएको छ। प्रारम्भिक विवरणअनुसार करिब ६० वटा घर बगेका छन् भने दुईवटा पक्की पुल ध्वस्त भएका छन्। त्यहाँ रहेको त्रिभुवन त्रिशूली बहुमुखी स्कुलसहितका संरचना पनि बाढीले बगाएको छ।
ढुंगे बजार र देवीघाट : भदौ १० गते आएको बाढीले नुवाकोटको ढुंगे बजारलगायतका बस्तीलाई तहसनहस बनाएको छ। यस क्षेत्रका अधिकांश पसल, सडक र व्यापारिक संरचना ध्वस्त भएका छन्। नुवाकोटकै देवीघाट बजार पनि बाढीले ध्वस्त भएको छ। त्यहाँ पसल, सडक र व्यावसायिक भवनहरू भग्नावशेषमा परिणत भएको देखिएको छ, जसले बाढीको भयावह अवस्थाबारे बयान गर्छ। यी दृश्यले स्थानीयहरूलाई त्रसित बनाएको छ।
बाढीले पुर्याएको पूर्ण क्षतिको यकिन विवरण भने आइनसकेको छ।







