रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १२ गते साँझ ७ बजेसम्म विभिन्न जिल्लामा ५७९ जनाको शव फेला परेको जानकारी दिएको हो ।
बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनमा शव फेला परेको प्राधिकरणको भनाइ छ । सबैभन्दा धेरै चितवनमा २३३ जनाको शव भेटिएको छ । यस्तै, नवलपरासी पूर्वमा १५४, गोरखामा ४६, धादिङमा ४०, नुवाकोटमा ३७, तनहुँमा ३०, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ ।
बाढीमा परी १९२४ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । तीमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ जना तथा अध्यागमन कार्यालयका कर्मचारी पनि सम्पर्कविहीन छन् ।
त्यस्तै रसुवाबाट १६१, नुवाकोटबाट १, जलविद्युत् आयोजनाबाट ९३३ र मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेका छन् ।
यस्तै, ५१७ विदेशी नागरिक र विदेशमा बस्ने भई नेपाल घुम्न आएका १२६ नेपाली पनि सम्पर्कविहीन रहेको बताइएको छ ।







