चीनतर्फबाट भोटेकोशी नदीमा पुनः बाढीको पानी आउन थालेपछि त्रिशूली नदी वरपरका बस्तीहरूमा जोखिम बढेको छ। शुक्रबार साँझ करिब ८:५४ बजे चीनतर्फबाट बाढी बढेको जानकारी प्राप्त भएसँगै रसुवादेखि मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कताका लागि आग्रह गरिएको छ।
भोटेकोशीमा आएको बाढीले त्रिशूलीको बहाव प्रभावित हुन सक्ने भन्दै नदी वरपरका बस्ती, सडक र अन्य संरचनामा जोखिम बढ्न सक्ने जनाइएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अर्को सूचना नआएसम्म नदी किनार र जोखिमयुक्त ठाउँमा नबस्न आग्रह गरेका छन्।
रसुवाबाट मुग्लिनसम्म त्रिशूली नदीका किनारमा रहने नागरिकहरूलाई सम्भावित जोखिमलाई गम्भीरतापूर्वक लिई सुरक्षित स्थानमा रहन र जलस्तर तथा बहावमा आउने परिवर्तनबारे सतर्क रहन भनिएको छ।
त्रिशूली करिडोरमा यसअघि नै बाढीको जोखिम देखिएको थियो। भोटेकोशीको बहाव फेरि बढेसँगै त्यहाँ सतर्कता थप बढाइएको हो। बाढी अझ बढे नदी किनारका बस्ती र पूर्वाधारमा असर पर्न सक्ने भएकाले स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई तयारी अवस्थामा राखिएको छ।
सम्बन्धित निकायले नदीको बहाव हेर्न तटीय क्षेत्रमा नजान, जोखिमयुक्त स्थानमा नबस्न र अनावश्यक आवतजावत नगर्न नागरिकहरूलाई आग्रह गरेका छन्।







