मुख्य सामग्रीमा जानुहोस्

नारायणीमा फेला परेका १८ शव पहिचानका लागि रुपन्देही सारियो

रसुवाको भोटेकोशी बाढीपछि नवलपरासीको नारायणी नदीमा फेला परेका १८ शव पहिचानका लागि रुपन्देही ल्याइएको छ। लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पतालमा राखिएका शव आवश्यक प्रक्रियापछि आफन्तलाई बुझाउने तयारी छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
नारायणीमा फेला परेका १८ शव पहिचानका लागि रुपन्देही सारियो
Nagariknetwork

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूका हुन सक्ने आशंकामा नवलपरासीको नारायणी नदीबाट फेला परेका १८ शव पहिचानका लागि रुपन्देही सारिएका छन्।

पहिचान हुन बाँकी शवलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाउने उद्देश्यले बुटवल र भैरहवाका अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा १५ शव राखिएका छन्। भैरहवास्थित भीम अस्पतालमा तीन महिलाका शव राखिएको छ।

यसअघि नवलपरासीको गण्डक क्षेत्रमा फेला परेको एउटा शव भने आफन्तले पहिचान गरेर बुझेर लगिसकेका छन्। डीएसपी श्रीवास्तवका अनुसार गोरखा पालुङटार नगरपालिका–७ का २८ वर्षीय समी कुमालको शव परिवारले पहिचान गरेपछि जिम्मा लगाइएको हो।

पश्चिम नवलपरासीको नारायणी नदीबाट पछिल्लो दुई दिनमा ४० वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले बताए। उनका अनुसार पहिचानका लागि केही शव परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ। अस्पतालमा ठाउँ अपुग भएपछि बाँकी शव रुपन्देही पठाइएको हो।

नारायणीबाट निकालिएका शवमध्ये केही मात्र पृथ्वीचन्द्र अस्पतालमा राख्न सकिएको र त्यहाँ नअटेकाहरूलाई बुटवल र भैरहवा लगिएको डीएसपी थापाले जानकारी दिए। उता, नवलपुरको त्रिवेणी क्षेत्रबाट पनि दुई दिनभित्र थप आठ शव फेला परेका छन्। ती शव आवश्यक प्रक्रिया पछि नवलपुर र चितवन पठाइएको प्रहरीले जनाएको छ।

नारायणी नदीमा धेरै शव फेला पर्न थालेपछि प्रहरीले विभिन्न जिल्लाका बेपत्ता व्यक्तिका परिवारसँग समन्वय गर्दै पहिचानको काम अघि बढाइरहेको छ। पहिचान खुलेपछि शव सम्बन्धित परिवारको जिम्मा लगाउने तयारी रहेको प्रहरीको भनाइ छ।