भदौ १२ गते, बेनिघाट (गोरखा) । त्रिशूली नदीमा आएको बाढीपछि गोरखामा भइरहेको खोजी र उद्धारले भेटिएका शवको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार जिल्लाको त्रिशूली तटीय क्षेत्रमा हालसम्म ४८ जनाको शव फेला परिसकेको छ । बाढीले रसुवा, नुवाकोट र धादिङसँगै गोरखाका गाउँ तथा राजमार्गमा पनि व्यापक क्षति पुर्याएको छ ।
सामान्यतया सवारी साधनको चाप हुने पृथ्वी राजमार्ग शुक्रबार भने सुनसान जस्तै थियो । बाढीले सडक अवरुद्ध गरेपछि मुग्लिन–नौबिसे खण्डमा सवारी आवागमन रोकिएको थियो । त्रिशूली नदीको किनारमा भने शव खोज्न र उद्धार गर्न सुरक्षाकर्मी व्यस्त देखिन्थे ।
गोरखाबाट खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली दुई दिनदेखि त्रिशूली किनारमा परिचालित छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार शुक्रबार मात्रै चार जनाको शव भेटिएको छ । उनले खोजी कार्य अझै जारी रहेको बताए ।
भेटिएका शवमध्ये ११ वटा पोखरा पठाइएको छ । बाँकी शव गोरखामै राखिएको डीएसपी श्रेष्ठले जानकारी दिए । सदरमुकामस्थित एनपीआई गोरखा अस्पतालमा चार शव र प्रदेश अस्पताल गोरखामा अन्य शव राखिएका छन् । शव थपिँदै गए पनि पहिचान हुन नसक्दा समस्या देखिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए । प्रहरीले भेटिएका शव सम्बन्धित जिल्लामै व्यवस्थापन गर्न परिपत्र भएको पनि उनले सुनाए ।
शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयमा हेल्प डेक्स स्थापना गरिएको छ । डिजिटल बोर्डमार्फत शवको तस्बिर देखाउने र हराएका व्यक्तिको खोजीका लागि आफन्तले निवेदन दिन सक्ने व्यवस्था मिलाइएको डीएसपी श्रेष्ठले बताए ।
५१ जना अझै सम्पर्कविहीन
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार बाढीमा परी जिल्लाका ५१ जना सम्पर्कविहीन छन् । स्थानीय तहसँगको समन्वयमा तथ्याङ्क सङ्कलन गरिएको प्रशासनले जनाएको छ । पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्रा गएका ३० जनाभन्दा बढी सम्पर्कविहीन छन् ।
बारपाक सुलिकोट र शहीद लखन गाउँपालिकाका ६/६ जना, धार्चे र आरुघाट गाउँपालिकाका ३/३ जना तथा अजिरकोट गाउँपालिकाका एक जना सम्पर्कविहीन रहेको प्रशासन कार्यालयले जनाएको छ ।
तीन पुल बगाए, हाइड्रोमा क्षति
गोरखा जोड्ने तीनवटा झोलुङ्गे पुल पनि बाढीको भेलमा बगेका छन् । गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चरौँदी जोड्ने पुल, गण्डकी गाउँपालिका–७ बुट्टार र धादिङको चौकीटार जोड्ने पुल बगाएको छ । शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पनि पूर्ण रूपमा क्षति पुगेको छ ।
गण्डकी गाउँपालिका बुट्टारस्थित निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले पनि बाढीको क्षति बेहोर्नुपरेको छ । हाइड्रोका प्रदीप दुलालका अनुसार दुईवटा क्रसर र त्यहाँ राखिएका सामग्री बाढीले बगाएको छ । एउटा बाँधमा क्षति पुगेको र ढलानका लागि राखेको रडसहितको निर्माण सामग्रीसमेत बगाएको उनले बताए ।
बाढीले २७ हजार लिटर क्षमताको ट्यांकी र एउटा कन्टेनरसमेत बगाएको प्रदीप दुलालले जानकारी दिए । शुक्रबार प्रमुख जिल्ला अधिकारी श्रेष्ठसहित सुरक्षा निकायको टोलीले क्षतिग्रस्त आयोजनास्थलको निरीक्षण गरेको थियो ।
बाढीपीडितको सहयोगका लागि गोरखाका स्थानीय तहहरूले रकम सहयोगको घोषणा गर्न थालेका छन् । संघसंस्था र विद्यालयलगायतबाट सङ्कलित सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने कार्य भइरहेको बताइएको छ । त्रिशूलीमा पानीको बहाव केही घटे पनि नदी किनारका स्थानीयवासीको मनमा भने त्रास कायमै छ ।







