बाजुरा, १३ भदौ । गोरु पालनलाई प्रोत्साहन गर्न जिल्लाका एक सय ५६ किसानलाई नगद सहयोग उपलब्ध गराइएको छ। परम्परागत कृषि पद्धतिमा गोरुको प्रयोग जोगाउने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्रतिकिसान पाँच हजार रुपैयाँ भुक्तानी गरेको हो।
कृषि क्षेत्रमा प्रविधि र यान्त्रिकीकरणको प्रयोग फैलिँदै जाँदा गोरु पाल्ने चलन घट्दै गएको छ। यही अवस्थामा परम्परागत खेती र गोरु पालनलाई निरन्तरता दिन केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत किसान छनोट गरी रकम वितरण गरेको जनाएको छ।
रकम पाउने किसान जिल्लाका नौवटै स्थानीय तहमा फैलिएका छन्। स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३ र गौमुल गाउँपालिकाका ३२ जनाले सहयोग पाएका छन्। यस्तै, बुढीनन्दा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका १४–१४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका सात, त्रिवेणी नगरपालिकाका चार र बुढीगंगा नगरपालिकाका तीन किसानको नाम छनोट सूचीमा परेको छ।
यसका लागि जिल्लाका नौवटै स्थानीय तहबाट चार सय किसानले आवेदन दिएका थिए। कागजात जाँच गरेर दुई सय जनालाई छनोट गरिए पनि असार २५ गतेसम्म एक सय ५६ किसानले मात्र प्रक्रिया पूरा गरेका थिए। प्रक्रिया पूरा गरेका किसानको बैंक खातामा प्रतिकिसान पाँच हजार रुपैयाँ पठाइएको केन्द्रका प्रमुख सिद्धराज जैशीले बताए।
घरमा एक हल गोरु पालेर परम्परागत तरिकाले खेती गर्दै आएका किसान र विकट स्थानीय तहलाई प्राथमिकता दिएर छनोट गरिएको उनले बताए। दुर्गम क्षेत्रका किसानलाई सदरमुकाम आउनैपर्ने बाध्यता नहोस् भन्नका लागि सम्बन्धित पालिकामै कागजात बुझाउने व्यवस्था मिलाइएको पनि जैशीले जानकारी दिए।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि बाजुरामा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।







