काठमाडौं, भदौ १३ गते । सरकारले रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। यो निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।
भोटेकोशी-ल्हेन्देमा गएको विनाशकारी बाढीबाट अति प्रभावित भएका स्थानीय तहहरूलाई तीन महिनाका लागि यसरी घोषणा गरिएको हो। गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै उक्त घोषणा गरेको हो।
घोषणासँगै ती क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका काम प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी सहजता हुनेछ। बाढीबाट भएको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय तहहरूको पहिचान गरी यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ।
विपद् संकटग्रस्त सूचीमा रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका परेका छन्। यस्तै, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका पनि सूचीमा छन्।
धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका र तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका पनि घोषणामा समेटिएका छन्। गोरखाको गण्डकी गाउँपालिकालाई समेत विपद् संकटग्रस्त क्षेत्र तोकिएको छ।
नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे क्षेत्रमा आएको बाढीका कारण उक्त स्थानीय तहका जनजीवन र भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको राजपत्रमा जनाइएको छ।







