मुख्य सामग्रीमा जानुहोस्

हिल्सा नाकामा अस्थायी क्वारेन्टिनको तयारी, नेपालगन्जबाट हुनेछ सेवा सञ्चालन

हुम्लावासीले विसं २०७० देखि उठाउँदै आएको माग सम्बोधन हुने गरी हिल्सा नाकामा अस्थायी क्वारेन्टिन सञ्चालन गर्न लागिएको छ। नाका सञ्चालन हुने समयमा मात्रै नेपालगन्जबाट कर्मचारी खटाइनेछ। स्थानीय उत्पादन चीनतर्फ निर्यात गर्न…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
हिल्सा नाकामा अस्थायी क्वारेन्टिनको तयारी, नेपालगन्जबाट हुनेछ सेवा सञ्चालन
Online Khabar

नेपाल–चीन सीमामा पर्ने हिल्सा नाकामा नेपालतर्फ अस्थायी क्वारेन्टिन सञ्चालन गर्ने तयारी भएको छ। हुम्लावासीले विसं २०७० देखि उठाउँदै आएको यो मागलाई तत्कालका लागि अस्थायी रूपमा भए पनि सम्बोधन गर्न खोजिएको हो।

नाकामा दिगो रूपमा सेवा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले अहिले अस्थायी व्यवस्थामा सीमित हुनुपरेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डा उमेश दाहालले हिल्सा नाकाबाट हुने आयात–निर्यातको मात्रा र नाका खुल्ने समयलाई हेरेर अस्थायी क्वारेन्टिन स्थापना गर्न लागिएको बताए। नाकामा अहिले स्थायी संरचना र जनशक्ति व्यवस्थापन गर्न कठिन भएकाले नेपालगन्जमा शाखा राखेर त्यहीँबाट सेवा सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।

कर्मचारी संरचना भर्खरै स्वीकृत भएर आएकाले हिल्सामै स्थायी रूपमा कर्मचारी खटाउन नसकिने अवस्था रहेको विभागले बताएको छ। सोहीअनुसार नाका खुला हुने अवधिमा नेपालगन्जबाट दुई जनासम्म कर्मचारी खटाउने र नाका बन्द भएपछि उनीहरूलाई फिर्ता बोलाउने व्यवस्था गरिने भएको छ।

२०७० सालदेखिको माग

हिल्सा नाकामा क्वारेन्टिनको आवश्यकता महसुस हुँदै आए पनि लामो समयदेखि यसको स्थापना हुन सकेको थिएन। चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको हिल्साबाट स्थानीय उत्पादन निर्यात गर्न क्वारेन्टिन अनिवार्य हुने भए पनि नाका वर्षभरि सञ्चालन नहुँदा स्थायी व्यवस्था गर्न सकिएको थिएन।

अहिले भने नाका सञ्चालन हुने अवधिमा मात्रै क्वारेन्टिन चलाउने गरी तयारी अघि बढाइएको छ। नाका बन्द हुनासाथ क्वारेन्टिन पनि बन्द गरी कर्मचारीलाई नेपालगन्ज फिर्ता गर्ने विभागको भनाइ छ।

निर्यातको बाटो खुल्ने अपेक्षा

हिल्सामा क्वारेन्टिन नहुँदा हुम्लामा उत्पादित रैथाने बाली, फलफूल, जडीबुटी, कृषि तथा पशुजन्य सामान चीन पठाउन कठिनाइ हुँदै आएको थियो। चीनतर्फ कृषि तथा पशुजन्य उत्पादन पठाउन स्वास्थ्य तथा गुणस्तर परीक्षण र क्वारेन्टिन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। तर हिल्सामै व्यवस्था नहुँदा नियमित निर्यात हुन सकेको थिएन।

अस्थायी क्वारेन्टिन सञ्चालन भएपछि यी अवरोध हट्ने र हुम्लाका स्थानीय उत्पादन चीनको बजारसम्म पुर्‍याउन सहज हुने विश्वास गरिएको छ। कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुणामणि पन्तले केही नहुनुभन्दा अस्थायी व्यवस्था नै भए पनि तत्कालका लागि काम चल्ने र स्थानीय रैथाने उत्पादन चीन लैजाने बाटो खुल्ने बताए।

उनका अनुसार अस्थायी क्वारेन्टिन सञ्चालनपछि हिल्सा नाकाबाट हुने निर्यातको अवस्था र चापको मूल्याङ्कन गर्न पनि सहज हुनेछ। सोही आधारमा भविष्यमा हिल्सामै स्थायी क्वारेन्टिन स्थापना गर्न सकिने उनको भनाइ छ।

स्थायी व्यवस्थाको आधार बन्ने

विभागले हिल्सा नाकाको व्यापारिक सम्भावनालाई ध्यानमा राख्दै दीर्घकालीन रूपमा नाका सञ्चालन प्रभावकारी बनाउने प्रयास भइरहेको बताएको छ। अहिलेको अस्थायी व्यवस्थाबाट नाका सञ्चालनको समयमा आवश्यक सेवा दिइने र भविष्यमा व्यापार बढे हिल्सामै स्थायी कार्यालय तथा जनशक्ति व्यवस्थापन गर्ने आधार तयार हुने जनाइएको छ।