मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी क्षेत्रमा बाढीको खतरा कायमै, सुरक्षित स्थानमा रहन आग्रह

रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशूलीमा जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा रहेको ताल फुट्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी क्षेत्रमा बाढीको खतरा कायमै, सुरक्षित स्थानमा रहन आग्रह
Online Khabar

१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी थुनिएर बनेको ताल फुट्न सक्ने भन्दै महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल भोटेकोशी र त्रिशूली नदीमा जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको छ । त्यसैले नदी किनारमा आवतजावत नगर्न र पूर्वसूचनामा ध्यान दिन महाशाखाले भनेको छ ।

महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार १० भदौमा बाढी आएको स्थानमा बनेको तालको आकार निरन्तर बढ्दै गएको जानकारी दिए । उनले उक्त ताल फुटेमा पानीसँगै ढुङ्गा, माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने बताएका छन् ।

भोटेकोशीमा बाढी आएपछि हाल दुवै नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको पराजुलीको भनाइ छ । बाढीको खतरा बढेमा महाशाखाले पूर्वसूचना जारी गर्ने उनले बताए ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिहरूलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।