मुख्य सामग्रीमा जानुहोस्

बाढीपीडितलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको एक महिनाको तलब

त्रिभुवन विश्वविद्यालयले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ। कार्यकारी परिषद्ले पदाधिकारी, शिक्षक र कर्मचारीको २०८३ भदौ महिनाको तलबबाट तोकिएको रकम…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढीपीडितलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको एक महिनाको तलब
Online Khabar

१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ।

भदौ १२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले भदौ १० गते रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भएको व्यापक जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सो सहयोग गर्ने निर्णय गरेको हो।

निमित्त रजिष्ट्रार प्रा. डा. महानन्द चालिसेले जारी गरेको सूचनाअनुसार विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको २०८३ भदौ महिनाको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

पारिश्रमिकबाट कट्टा हुने रकम

आर्थिक प्रशासन महाशाखामार्फत भदौ महिनाको तलब भुक्तानी गर्दा निम्नअनुसारको रकम कट्टा गरिने विश्वविद्यालयले जनाएको छ।

  • कुलपतिबाट नियुक्त उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पदाधिकारीको एक महिनाको पारिश्रमिक ।

  • प्राध्यापक, प्रशासक, सहप्राध्यापक तथा सहप्रशासक वा सो सरहका कर्मचारीको मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम ।

  • उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत र प्रशिक्षक वा सो सरहका कर्मचारीको मासिक सुरु तलब स्केलको ७ दिन बराबरको रकम ।

  • मुख्य कार्यालय सहायक र कार्यालय सहायक वा सो सरहका कर्मचारीको मासिक सुरु तलब स्केलको ५ दिन बराबरको रकम ।

  • श्रेणीविहीन कर्मचारीको मासिक सुरु तलब स्केलको २ दिन बराबरको रकम ।

प्राकृतिक विपत्तिको यो दुःखद घडीमा विश्वविद्यालय परिवारले संस्थागत तथा व्यक्तिगत रूपमा पीडितहरूको राहत र पुनर्स्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले यो निर्णय गरेको जनाएको छ ।