मुख्य सामग्रीमा जानुहोस्

नुवाकोटमा त्रिशूली बाढी : ५१ जनाको मृत्यु, ४०५ जना बेपत्ता

भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटमा ५१ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ४०५ जना बेपत्ता छन् भने हेलिकप्टरबाट एक हजार ८२३ र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको छ। बाढीले सयौं घर, पुल,…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
नुवाकोटमा त्रिशूली बाढी : ५१ जनाको मृत्यु, ४०५ जना बेपत्ता
Online Khabar

काठमाडौं, १३ भदौ । भोटेकोशीको जलसतह बढेसँगै भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ५१ जनाको मृत्यु भएको र ४०५ जना बेपत्ता रहेको जनाएको छ।

बाढीमा परेर ज्यान गुमाएका ५१ जनाको शव प्राप्त भए पनि कसैको समेत पहिचान हुन नसकेको प्रशासनले बताएको छ। बाढीका कारण ४० जना घाइते भएका छन्। बेपत्ताको नामावली आफन्त तथा परिवारका सदस्यले दिएको जानकारीका आधारमा तयार पारिएको हो।

त्रिशूली बाढीको असर सबैभन्दा बढी विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकामा परेको छ। विदुरका वडा नं १, २, ४, ५, ७, १० र १२, बेलकोटगढीका वडा नं ५, ७, ८ र ९ तथा किस्पाङ गाउँपालिका–५ को शान्तिबजार क्षेत्र सबैभन्दा धेरै प्रभावित भएका छन्।

भौतिक पूर्वाधारमा क्षति

बाढीले नुवाकोटभरका करिब ७०० देखि ८०० निजी घरमा क्षति पुर्‍याएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त संरचनाको यकिन विवरण भने सङ्कलन भइरहेको प्रशासनले जनाएको छ। बाढीबाट आठ सरकारी कार्यालयका भवनसमेत प्रभावित भएका छन्, जसमा कृषि विकास बैंकको भवन पनि छ। तीन जलविद्युत् गृह र चार विद्यालयमा आंशिक क्षति पुगेको छ। क्षति पुगेका विद्यालयमध्ये एक सरकारी र तीन निजी छन्।

बाढीले सडक तथा पुलहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ। हालसम्म १५ पक्की पुल र नौ झोलुङ्गे पुल बाढीको चपेटामा परेका छन्। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ, जसका कारण राहत तथा उद्धार सामग्री ढुवानीमा कठिनाइ भएको छ।

नुवाकोटस्थित केन्द्रीय कारागारको संरचनामा समेत बाढीले क्षति पुर्‍याएको छ। कारागार परिसरका खम्बा र कम्पाउण्ड पर्खाल बगाउनुका साथै कार्यालय भवनको भुइँतल्लासहित केही संरचना पुरिएको प्रशासनले जनाएको छ। कारागारमा रहेका कैदीबन्दी भने सुरक्षित रहेको बताइएको छ।

उद्धार तथा आश्रय व्यवस्थापन

बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ। प्रशासनका अनुसार हालसम्म हेलिकप्टरमार्फत एक हजार ८२३ जना र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको छ। हालसम्म ७९१ जनालाई जिल्लाका विभिन्न आश्रयस्थलमा व्यवस्थापन गरिएको छ। कतिपय प्रभावित आफन्तकहाँ बसिरहेकाले उनीहरूलाई आवश्यकताअनुसार आश्रयस्थलमा राख्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ।

नदी तटीय क्षेत्रलगायत जोखिमयुक्त बस्तीमा बस्नेहरूलाई थप सतर्कता अपनाउन प्रशासनले विज्ञप्तिमार्फत आग्रह गरेको छ। बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले सुरक्षित स्थानमा बस्न र धैर्य कायम राख्न समेत भनिएको छ।

राहत र उद्धारलाई थप प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, नेपाल रेडक्रस, सञ्चारकर्मी तथा आम नागरिकलाई समन्वय र सहयोगका लागि प्रशासनले अपिल गरेको छ। उपलब्ध स्रोत–साधन परिचालन गरी खोजी, उद्धार, उपचार र आश्रय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको समेत प्रशासनले जनाएको छ।