रसुवाको बाढीमा बेपत्ता भएका कञ्चनपुरका ३० जना अझै सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको विवरणअनुसार बेपत्ता सूचीमा रहेका ३९ जनामध्ये ३० जना अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन्।
प्रशासनका अनुसार बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना भने सम्पर्कमा आइसकेका छन्। सम्पर्कमा आउनेहरूमा शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३४ वर्षीय सुनिल चौधरी र भीमदत्त नगरपालिका–६ भगवती टोलकी ३४ वर्षीया चन्दा जोशी छन्। त्यस्तै, बेलडाँडी गाउँपालिका–३ कमरीका अजय राना, सुरेश राना र सन्तोष राना (सबै २५ वर्षीय) तथा बेलौरी नगरपालिका–३ का २२ वर्षीय नवीन चौधरी र आदर्श चौधरी पनि सम्पर्कमा आएका प्रशासनले जनाएको छ।
ठेगाना नखुलेका कञ्चनपुरका २७ वर्षीय राजेन्द्र भट्टलाई रसुवा अस्पतालले रेफर गरेको छ भने ३२ वर्षीय प्रदीप चन्दको रसुवा अस्पतालमा उपचार भइरहेको प्रशासनले बताएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार राति सार्वजनिक गरेको विवरणअनुसार राजेन्द्रको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने प्रदीपको स्वास्थ्य अवस्था सामान्य छ। प्राधिकरणका अनुसार दुवै जनालाई रसुवा अस्पतालले रेफर गरेको हो।
सम्पर्कविहीनको सूचीमा कञ्चनपुर घर भएका नेपाली सेनाका तीन जना पनि छन्। भीमदत्त नगरपालिका–८ तिलाचौरका जवान ३५ वर्षीय श्याम पन्त, कृष्णपुर नगरपालिका–५ का लेस नायक रमेशराज जोशी र कृष्णपुरकै वडा नम्बर ४ का दर्जा नखुलेका हिक्मतबहादुर पाल सम्पर्कविहीन रहेका छन्।
यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी प्राप्त अन्य जिल्ला र भारतका सात जना पनि सम्पर्कविहीन सूचीमा छन्। उनीहरूमा डडेल्धुराको गन्यापधुरा–१ का २८ वर्षीय सुरजबहादुर महता, बैतडीको सिगास गाउँपालिका–७ का २२ वर्षीय लक्ष्मण ऐर, बैतडीकै डिलाशैनी गाउँपालिका–७ का ३८ वर्षीय वीरेन्द्र धामी, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का ५० वर्षीय पदमराज जोशी, बर्दियाको रम्भापुर गाउँपालिका ढोडियाका ४० वर्षीय बुद्धिराम चौधरी र ४५ वर्षीय भारतीय नागरिक भवानीदत्त विष्ट रहेका छन्।







