काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी हालसम्म ३२० भारतीय नागरिक बेपत्ता भएका छन्। भारतीय विदेश मन्त्रालयले शुक्रबार राति सार्वजनिक गरेको विवरणअनुसार उद्धार तथा खोजीकार्य जारी रहँदा पनि धेरै भारतीय नागरिकको अवस्था अझै थाहा नभएको हो।
मन्त्रालयका अनुसार अहिलेसम्म ८४ भारतीय नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये २१ जना तमिलनाडुका छन्, जो शुक्रबार नै स्वदेश फर्किसकेका छन्। यस्तै, त्रिशूली–वन प्रोजेक्टमा कार्यरत ६३ जना कामदारको पनि सुरक्षित उद्धार भइसकेको मन्त्रालयले जनाएको छ।
चीनमा रहेका १४९ भारतीय नागरिक सुरक्षित रूपमा नेपाल आइपुगेका छन्। मन्त्रालयका अनुसार अझै झण्डै ४०० भारतीय नागरिक चीनमा सुरक्षित अवस्थामा छन् र उनीहरूलाई फिर्ता ल्याउने प्रयास जारी छ। भारतीय दूतावास उनीहरूसँग लगातार सम्पर्कमा रहेको पनि जानकारी दिइएको छ।
भारतीय विदेश मन्त्रालयले उपलब्ध गराएको यो तथ्यांक शुक्रबार राति १० बजेसम्मको रहेको बीबीसीले जनाएको छ।







