विपद्बाट भएको क्षति मेटाउन नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले पुनर्स्थापना तथा पुनर्निर्माणका लागि विदेशी सहयोग लिनुपर्ने अवस्था रहेको बताउँदै दाता सम्मेलन गर्न सकिने संकेत गरेका छन्।
परराष्ट्र मन्त्रालयमा शनिबार आयोजित पत्रकार ब्रिफिङमा मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल र जलविद्युत् आयोजनालगायत संरचनामा व्यापक क्षति पुगेको बताए। क्षतिको विस्तृत मूल्याङ्कन भइरहेकाले त्यसपछि मात्र पुनर्निर्माणको योजना र सहयोगको खाका तयार गरिने उनको भनाइ छ।
विपद्पछिको उद्धार तथा राहत कार्यमा छिमेकीसहित विभिन्न देशबाट सहयोग प्राप्त भइरहेको मन्त्री खनालले जानकारी दिए। भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री आइसकेको छ। चीन, जापान र अष्ट्रेलियालगायत देशबाट पनि अत्यावश्यक राहत सामग्री निरन्तर आइरहेको उनले बताए।
विदेशी समकक्षीहरूसँग विपद् व्यवस्थापन र राहत सहयोगका विषयमा प्रत्यक्ष संवाद भइरहेको पनि उनले उल्लेख गरे। भारतीय विदेशमन्त्री एस. जयशंकरसँग कुराकानी भइसकेको र चिनियाँ विदेशमन्त्री वाङ यीसँग कुराकानीको तयारी भइरहेको मन्त्री खनालले बताए।
नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचारप्रति मन्त्री खनालले आपत्ति जनाएका छन्। ती समाचार पूर्ण रूपमा आधारहीन र झुटा भएको उनको दाबी छ।







