मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीपछि आमाछोदिङ्मो ‘नाकाबन्दी’मा, एक हप्ताभित्र राशन सकिने चिन्ता

भोटेकोशी बाढीले रसुवाको आमाछोदिङ्मो गाउँपालिकालाई बाहिरी दुनियाँबाट काटेको छ। सबै पुल, सडक र गोरेटो बाटो बगाएपछि एक हप्ताभित्र राशन सकिने र भोकमरी हुने स्थानीयको चिन्ता छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढीपछि आमाछोदिङ्मो ‘नाकाबन्दी’मा, एक हप्ताभित्र राशन सकिने चिन्ता
Online Khabar

भोटेकोशीको बाढीले रसुवाको आमाछोदिङ्मो गाउँपालिकालाई बाहिरी सम्पर्कबाट पूर्ण रूपमा विच्छेद गरेको छ। गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार पालिका जोड्ने सडक, गोरेटो बाटो र झोलुंगे पुल सबै बाढीले बगाएको छ। अहिले पैदल हिँडेर पनि गाउँ पुग्न सकिने अवस्था छैन।

पालिकामा जाने हाकुवेशी हुँदै मैलुङ जोड्ने बाटो, हाकुवेशीकै अर्को बाटो र स्याफ्रुतर्फको बाटो पनि अवरुद्ध भएको तामाङले बताए। उनका अनुसार बीचमा बग्ने भोटेकोशी खोलाका सबै पुल बाढीले बगाएपछि गाउँपालिकामा नाकाबन्दी लागेजस्तै अवस्था सिर्जना भएको छ। गाउँपालिकाको एकातिर बासिन्दा छन् भने अर्कोतिर सदरमुकाम धुन्चे छ, तर बीचको खोला तर्ने उपाय छैन।

अहिलेसम्म गाउँमा राशन भने टुटिसकेको छैन। तर पालिकाका विभिन्न ठाउँका बासिन्दाले एक हप्ताभित्र राशन सकिएर भोकमरी हुने चिन्ता व्यक्त गरेका छन्। बाढीपछि गाउँमा बिजुली अवरुद्ध छ भने फोन सेवा पनि ठप्प छ। सम्पर्क हुन सकेका एक÷दुई जनाका फोनको ब्याट्री पनि सकिन लागेको अध्यक्ष तामाङले बताए। पालिकाका केही ठाउँमा मोबाइल चार्ज गर्ने र सम्पर्क गर्ने साधनको आवश्यकता परेको उनको भनाइ छ।

गाउँपालिकाबाट हराएका मानिसको यकिन सूची आउन सकेको छैन। तर सबै विवरण संकलन गर्दा डेढ सयभन्दा बढी मानिस सम्पर्कविहीन रहेको बताइएको छ। गाउँमा रहेका मानिसले आफन्त सम्पर्कविहीन भएको जानकारी दिए पनि फोन सम्पर्क नहुँदा उनीहरूको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ।

बाढीको दिन आफू काठमाडौंमा रहेको तामाङले सुनाए। हेलिकप्टरबाट पालिका पुग्ने प्रयास असफल भएपछि साना बाटो र वैकल्पिक सडक हुँदै उनी धुन्चेसम्म पुगेका हुन्। उनका अनुसार काठमाडौंबाट धुन्चेसम्म आउन भने सकिन्छ। तर स्याफ्रुबेशी हुँदै गाउँसम्म पुग्ने बाटो भने पुल नभएकाले अवरुद्ध छ।

आमाछोदिङ्मोको डाँडापारि पर्ने धादिङको रुबीभ्याली गाउँपालिकामा भने सम्पर्क कायम रहेको तामाङले बताए। त्यहाँबाट बाटो बनाउने विषय उठेको छ। सोमदाङतर्फको बाटोका केही भागमा मात्र समस्या देखिएकाले मर्मत गरेर बाटो खुलाउन सकिने उनको भनाइ छ।

रसुवाका छिमेकी गाउँपालिकाहरूको अवस्था ध्वस्त रहेको उनले बताए। आमाछोदिङ्मोसँग जोडिएका धादिङका गाउँपालिकाको अवस्था भने तुलनात्मक रूपमा सहज छ। अहिले सकेसम्म चाँडो गाउँमा सम्पर्क स्थापित गर्ने, बासिन्दाको अवस्था थाहा पाउने र बिजुली तथा फोन टावर मर्मतको बाटो खोज्ने प्रयास भइरहेको तामाङले बताए।

तामाङसँगको कुराकानीमा आधारित।