त्रिशूली नदीको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि पृथ्वी राजमार्गसँगको सीधा सम्पर्क गुमाएको धादिङबेसी सदरमुकाम अहिले तीनवटा वैकल्पिक सडकबाट जोडिएको छ। यी मार्ग हुँदै साना यात्रुवाहक सवारीदेखि खाद्यान्न र ग्यास ढुवानी गर्ने मालबाहक सवारीसम्म सदरमुकाम भित्रिन थालेका छन्।
बाढीपछि धादिङ खण्डमा क्षतिग्रस्त नभएका दुई पक्की पुललाई सडक सञ्जालमा जोडेर सदरमुकामको आवागमन सुचारु गराइएको हो।
मासटार–पिपलटार–परेवाटार वैकल्पिक मार्ग
मलेखुको फुर्केखोला पुल बगाएपछि सिद्धलेक गाउँपालिका र संघीय सरकारअन्तर्गतको सडक विभागले मासटार–पिपलटार–परेवाटार सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छन्। वर्षाका कारण अवरुद्ध बनेको सो सडक मर्मतपछि खुलाइएको सडक विभागका सुपरभाइजर कुमार थपलियाले बताए।
यो मार्गमा हाल जीप, भ्यान, हाइस, माइक्रोबस र बोलेरोजस्ता सवारी गुड्न सक्ने भएका छन्। ठूला मालबाहक र यात्रुवाहक बससमेत सञ्चालन गर्न सकिने गरी थप मर्मत भइरहेको छ। सोही मार्ग हुँदै सदरमुकाममा दुई ट्रक बाबा ग्यास भित्रिएको छ।
धादिङबेसीबाट पृथ्वी राजमार्गतर्फ निस्कनेहरू परेवाटार, पिपलटार र केउरेनी हुँदै मासटार पुग्न सक्नेछन्। राजमार्गबाट सदरमुकाम आउनेहरू मासटारस्थित त्रिशूली नदीको पुल पार गरेर केउरेनी–पिपलटार हुँदै परेवाटार आउन सक्नेछन्। यो सडकलाई थप सुधार गरी दसैंमा समेत सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।
धादिङबेसी–सुनौलाबजार–फोस्रेटार मार्ग
अर्को वैकल्पिक मार्ग धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–कल्लेरीटार हुँदै गल्छीसम्म जोडिने सडक हो। करिब ४० किलोमिटर लामो यो सडकमध्ये १५ किलोमिटर पक्की र २५ किलोमिटर कच्ची छ। होचा साना कार–जीपबाहेक चारपाङ्ग्रे हलुका सवारी र मोटरसाइकलका लागि यो उपयुक्त मानिन्छ।
यस खण्डमा सानादेखि ठूलासम्मका सार्वजनिक यातायात चल्न सक्ने गरी मर्मतको काम भइरहेको नीलकण्ठ नगरपालिकाले जनाएको छ। राजधानीसँग सबैभन्दा छोटो दूरीमा जोड्ने सडक पनि यही भएको बताइएको छ।
वैकल्पिक सडकहरू राजमार्गसँग जोडिए पनि नियमित सार्वजनिक यातायात सञ्चालनमा आउन सकेको छैन। रिजर्भ गरिएका साना तथा मझौला सवारी र अत्यावश्यक सेवाका एम्बुलेन्स यही मार्ग हुँदै गुडिरहेका छन्।
मुग्लिन–आँबुखैरेनी–गोरखा–आरुघाट मार्ग
सदरमुकाममा उपभोग्य सामग्रीको आपूर्तिका लागि मुग्लिन–आँबुखैरेनी–गोरखा–आरुघाट–सल्यानटार हुँदै धादिङबेसी आउने सडक प्रयोग भइरहेको छ। तराईबाट भित्रिने अधिकांश उपभोग्य सामग्री लामो दूरीको भए पनि यही मार्ग हुँदै ल्याइने गरेको छ। दूरी बढी भएकाले ढुवानी खर्च केही बढे पनि खाद्यान्न र इन्धन आपूर्तिका लागि यो सडक प्रयोगमा आएको हो।
सल्यानटारदेखि आरुघाटसम्मको करिब ५ किलोमिटर कच्ची सडकमा त्रिपुरासुन्दरी गाउँपालिकाले मर्मत गरेर आवागमन सहज बनाएको छ। बाँकी भाग पक्की रहेको छ। बाढीपछि यही मार्ग हुँदै सदरमुकाममा तीन ट्रक पेट्रोल–डिजेल भित्रिएको छ। तराईबाट खाद्यान्न बोकेर आउने मझौला मालबाहक सवारी र सार्वजनिक यातायात पनि यसै बाटो भएर भित्रिएका छन्।
सुरुका दिनमा सदरमुकाममा खाद्यान्नलगायतका सामग्री किन्नेको भीडका कारण केही असहजता देखिए पनि हाल खाद्यान्न र इन्धनको अभाव नरहेको नीलकण्ठ नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले बताए।







