काठमाडौं, १३ भदौ । पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूले प्राकृतिक विपद्बाट पीडित भएकाहरूको राहत तथा पुनःस्थापनाका लागि आफ्नै तलबबाट सहयोग गर्ने निर्णय गरेका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले सो निर्णय लिएको हो ।
बैठकले भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा पुर्याइएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यो निर्णय गरेको हो । विश्वविद्यालयका रजिस्ट्रार डा. रमेश बाबु काफ्लेले जारी गरेको सूचनाअनुसार भदौ महिनाको तलब भुक्तानी गर्दा पदअनुसार तोकिएको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।
विश्वविद्यालयले पदाधिकारी, शिक्षक र कर्मचारीको तलब कट्टा गर्ने व्यवस्था यसप्रकार तय गरेको छ —
उपकुलपति र रजिस्ट्रारले एक महिनाको तलब योगदान गर्नेछन् ।
डीन, परीक्षा नियन्त्रक, प्राध्यापक तथा प्रशासनतर्फका सम्बन्धित कर्मचारीले आधा महिनाको तलब योगदान गर्नेछन् ।
सहप्राध्यापक तथा मुख्य अधिकृतबाट १० दिनको तलब कट्टा हुनेछ ।
उपप्राध्यापक, वरिष्ठ अधिकृत, सहायक प्राध्यापक/शिक्षण सहायक तथा अधिकृतबाट ७ दिनको तलब कट्टा गरिनेछ ।
मुख्य सहायक तथा सहायकबाट ५ दिन र सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको तलब कट्टा हुनेछ ।
विश्वविद्यालयले आफ्ना सम्बन्धन प्राप्त कलेज तथा क्याम्पसहरूलाई पनि बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि सक्दो आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।







