भदौ १३, काठमाडौं । रसुवाको बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारका लागि आएको ६ सदस्यीय चिनियाँ सुरुङ विज्ञ टोली २१६ मेगावाटको अपर त्रिशुली–१ परियोजनाको सम्पर्कमा रहेको खुलेको छ।
यसअघि प्रधानमन्त्री कार्यालयले उक्त टोली रसुवाकै माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसको उद्धारमा खटाइएको जानकारी दिएको थियो। तर, सो आयोजनाको सुरुङमा मानिस नफसेको र चिनियाँ टोली पनि परियोजना क्षेत्रमा नपुगेको आयोजना व्यवस्थापनले बताएपछि प्रधानमन्त्री कार्यालयको सूचना गलत भएको पुष्टि भएको छ।
नेपाल वाटर एन्ड इनर्जी कम्पनीका प्रमुख कार्यकारी अधिकारी गिरिराज अधिकारीले उक्त चिनियाँ टोली आफूहरूको सम्पर्कमा रहेको बताए। टोली अन्य कुनै आयोजनामा उद्धारका लागि गएको हो वा होइन भन्नेबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ।
अधिकारीका अनुसार अपर त्रिशुली–१ को सुरुङमा अझै करिब ४ सय मानिस फसेको हुनसक्ने अनुमान छ। यो आयोजनाको सिभिल निर्माण चाइना रेलवेले गरिरहेकाले त्यही कम्पनीको समन्वयमा चिनियाँ विज्ञहरू नेपाल आएका हुन्। चिनियाँ ठेकेदार कम्पनीको सम्पर्कमा रहेका उनीहरू भोलिबाट फिल्डमा खटिन सक्ने अधिकारीले बताए।







