मुख्य सामग्रीमा जानुहोस्

बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन उडाए कानुनबमोजिम कारबाही हुने

बाढी प्रभावित क्षेत्रमा प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन उडाउँदा हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न भएको भन्दै प्राधिकरणले कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ। उद्धारका लागि हेलिकप्टर परिचालन भइरहेकाले ड्रोन…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन उडाए कानुनबमोजिम कारबाही हुने
Online Khabar

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन उडाएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। प्राधिकरणले शनिबार जारी गरेको सूचनामा उद्धारकार्यमा संलग्न हेलिकप्टरको सुरक्षामा अनधिकृत ड्रोन उडानले गम्भीर जोखिम पैदा गरेको उल्लेख छ।

प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहत पुर्‍याउन नेपाल सरकार, गृह मन्त्रालय, प्राधिकरण, नेपाली सेना र निजी क्षेत्रको समन्वयमा हेलिकप्टर निरन्तर उडान गरिरहेका छन्। तैपनि केही व्यक्ति तथा संस्थाले जिल्ला प्रशासन कार्यालयको अनुमति नलिई ड्रोन उडाइरहेको पाइएको प्राधिकरणको भनाइ छ। यसले हवाई सुरक्षामा गम्भीर जोखिम पैदा गर्नुका साथै खोजी तथा उद्धारका काममा समेत बाधा पुर्‍याइरहेको सूचनामा जनाइएको छ।

सूचनाअनुसार ‘मानवरहित हवाई उपकरण आरपीए/ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५’ ले तोकेको प्रक्रिया पूरा गरेर मात्र ड्रोन उडाउन पाइने व्यवस्था छ। त्यसका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिन आवश्यक रहेको प्राधिकरणको सूचनामा भनिएको छ।

अनुमति नलिई ड्रोन उडान गरेमा वा उद्धारका क्रममा अवरोध पुर्‍याएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि सूचनामा उल्लेख छ। बाढीपीडितको उद्धार र राहतलाई व्यवस्थित तथा सुरक्षित बनाउन प्राधिकरणले सबैलाई नियमको पालना गर्न आग्रह गरेको छ।