नुवाकोटको देवीघाटमा गत बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले धेरै घर बगाएर वा पुरेर स्थानीयको घरको नामोनिशान नै मेटिएको छ। कतिपय स्थानीय बाढीको चौथो दिन पनि आफ्नो घर कहाँ थियो भनेर यकिन गर्न नसक्ने अवस्थामा छन्।
भग्नावशेष भएका घरमा पस्न जोखिम मोलेर पनि स्थानीयले आफ्ना सरसामान खोज्ने क्रम जारी छ। कोही लत्ताकपडा निकाल्दै थिए, कोहीले भने दलदलमा फस्न नपरोस् भनेर काठ तेर्स्याएर घरसम्म पुग्ने बाटो बनाउँदै थिए। केही युवा पुरिएको मोटरसाइकल खनेर निकाल्न व्यस्त देखिन्थे भने केही ग्यास सिलिन्डर निकाल्न खोज्दै थिए।
स्थानीयको मुख्य चिन्ता भने घरभित्र रहेका कागजात नै छन्। पेन्सन पट्टा, लालपूर्जा र अन्य महŒवपूर्ण कागजपत्रहरू भासिएका घरभित्रै छन्। केही भाग्यमानीले सुनचाँदीजस्ता बहुमूल्य सामान निकाल्न भ्याएका छन्, तर धेरैको सबथोक घरभित्रै छ।
यही अवस्थामा भत्किएका घरमा चोरी हुने डर पनि स्थानीयमा उत्तिकै छ। शनिबार दिउँसो भग्नावशेष भएको एउटा घरमा एक अपरिचित व्यक्तिले खोतल्न थालेपछि स्थानीयले उनलाई पक्राउ गरे। उनलाई प्रहरीलाई बुझाउने तयारी भए पनि केहीले सम्झाइबुझाइ गरेर छाडिदिएका थिए।
देवीघाटमा भौतिक क्षतिसँगै मानवीय क्षति पनि भएको छ। यहाँ रहेको वृद्धाश्रममा बस्दै आएका ५ जना वृद्धवृद्धा बेपत्ता छन्। अन्य बासिन्दालाई भने निकाल्न भ्याइएको थियो। केही स्थानीय पनि अहिलेसम्म सम्पर्कविहीन छन्।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोला किनार तथा भग्नावशेषमा खोजी र उद्धार गरिरहेको छ। शव फेला परे निकाल्ने काम पनि जारी छ। देवीघाट फेरि पहिलेकै अवस्थामा फर्कन नसक्ने भन्दै स्थानीय चिन्तित देखिन्छन्।
पृथ्वीनारायण शाहको समाधीस्थल रहेको देवीघाट धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि प्रसिद्ध छ। अहिले भने यो क्षेत्र तहसनहस भएको छ, भग्नावशेषको लेदोले इतिहासकै झल्को पनि मेटिएको छ।







