भदौ १३, काठमाडौं । गत बुधबारको विनाशकारी बाढीपछि ल्हेन्देखोलाको माथिल्लो भागमा बनेका ताल फुट्ने तत्काल जोखिम कम भएको छ । जल तथा मौसम विज्ञान विभागसँग आबद्ध प्राविधिकहरूले पछिल्लो अवस्थाबारे गरेको विश्लेषणमा ताल बिस्फोटको सम्भावना घटेको निष्कर्ष निकालिएको हो ।
विज्ञहरूका अनुसार ताल फुट्ने हल्लाले तल्लो भेगमा जारी खोजतलास र उद्धारकार्य नै प्रभावित भएको छ । माथिल्लो भागबाट पानी भरिएर बग्न थालेकाले ताल विस्फोट भई बाढी आउने सम्भावना तत्कालका लागि टरेको उनीहरूको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार कमजोर तालहरू पानी भरिनेबित्तिकै फुटिहाल्ने गर्छन् । तर ल्हेन्देखोलाको माथिल्लो भागमा भर्खर बनेको ताल भरिएर बग्न थालेको २४ घण्टा नाघिसक्दा पनि नफुटेकाले अब बिस्फोटको जोखिम घट्दै गएको देखिन्छ । भरिएर पानी बग्न थालेपछि ताल आफैं फुट्ने सम्भावना कम हुँदै जाने उनको भनाइ छ ।
जल तथा उर्जा आयोगको सचिवालयमा कार्यरत भूगर्भविद् श्रीकमल द्विवेदीले हिमचट्टान बज्रेको खाल्डोमा पानी भरिएर तालजस्तो बनेको र त्यति लामो आकारको ताल फुट्ने सम्भावना नरहेको बताए । उनका अनुसार खाल्डोमा पानी भरिएर बग्नु र ताल फुट्नु फरक विषय हो । अनाहकमा बाढीको हल्ला चलाएर तल्लो भेगको उद्धार र खोजतलास प्रभावित पारिएको उनको टिप्पणी छ ।
गत बुधबारको बाढीको भोलिपल्ट चीनले लाङटाङ हिमालको उत्तरी भागमा ड्रोनमार्फत सर्वेक्षण गरेको थियो । त्यसक्रममा करिब चार हजार मिटरको उचाइमा एउटा र ल्हेन्देखोलाको माथिल्लो भागमा अर्को गरी दुईवटा ताल फेला परेका थिए । पराजुलीका अनुसार ती तालमा पानी भरिने क्रम चलेको र आफैं फुटेर बग्नसक्ने खतरा देखिएपछि चीनले पठाएको सूचना र विवरणका आधारमा सरकारले सतर्कताको सूचना जारी गरेको थियो । सो बेला दुवै ताल जोखिमपूर्ण रहेको निर्क्यौल गरिएको थियो । पछिल्लो समय प्राप्त तस्बिर र तथ्यांकमा भने तालको एउटा निकास खुलेर पानी बिस्तारै बाहिर निस्किएको देखिएको छ । पानीको ओभरफ्लो भइसकेको अवस्थाले ताल बिस्फोटको सम्भावना कम हुने निष्कर्ष प्राविधिकहरूले निकालेका छन् ।
प्राविधिकहरूले माथिल्लो ताल पहिल्यै कुनै न कुनै रूपमा अस्तित्वमा रहेको हुनसक्ने आकलन गरेका छन् । यकिनका लागि उनीहरू पुराना तथ्यांकहरू विश्लेषण गरिरहेका छन् । तल्लो ताल भने गत बुधबार बिहान हिमचट्टान खसेपछि बनेको हुनसक्ने अनुमान छ । पराजुलीले पहिचान भएका तालबाट दुई प्रकारको जोखिम रहने बताएका छन् । पहिलो, ताल फुटेर पानी बग्ने सम्भावना, जुन अहिले घटे पनि पूर्णरूपमा टरेको छैन । दोस्रो, माथिबाट पहिरो गएर तालमा खस्दा पानी बगेर फेरि बाढी आउनसक्ने सम्भावना ।
पहिचान भएका दुवै ताल स्याटेलाइट इमेज र ड्रोनका आधारमा देखिएका हुन् । तालको लम्बाइ, चौडाइ र वरपरको भौगोलिक अवस्था थाहा भए पनि गहिराइको यकिन हुन नसक्दा पानीको मात्रा र जोखिम पहिल्याउन कठिन भइरहेको छ । पराजुलीले दुवै तालको आकार करिब-करिब उस्तै रहेको बताए । उनका अनुसार दुवै तालमा करिब ५० हजार घनमिटर पानी रहेको छ । चिनियाँ पक्षले पठाएको प्रारम्भिक आँकडाअनुसार गत बुधबार २०० लाख घनमिटर पानी बगेको थियो ।
सबैभन्दा खराब अवस्थामा ताल बिस्फोट भई पानी बगे पनि गत बुधबारकै शैलीमा विनाशक बाढी नआउने प्राविधिकहरूको अनुमान छ । पराजुलीका अनुसार अघिल्लो बाढीले बगाएको लेदोले खोलाको सतह माथि आइसकेकाले बाढी आइहाले किनारमा संकट हुनसक्ने हो, तर अघिल्लोभन्दा ठूलो बाढी आएर थप क्षति पुर्याउने सम्भावना कम छ ।
यसैबीच, जल तथा उर्जा आयोगकै सिनियर डिभिजनल इञ्जिनियर द्विवेदीले भने तालबारे फरक मत राख्दै आएका छन् । उनले दुई दिनअघि नै गेग्रग्यान बहावले कम्पन ल्याएको अवस्थामा भूकम्पले तालको ड्याम फुटेको हल्ला चलाइएको र त्यसले उद्धारमा बाधा पुर्याएको सार्वजनिक चेतावनी दिएका थिए । उनले सामाजिक सञ्जालमा यस्तो हल्लाले सुरुङमा थुनिएकाहरूको उद्धार प्रयास नै बाधित हुने धारणा राखेका थिए ।







