रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६१ जनाको उद्धार भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार शनिबार साँझसम्म विभिन्न मुलुकका ती पर्यटकलाई सुरक्षित रूपमा निकालिएको हो। बाढीका कारण तीन सय २० पर्यटक भने अझै सम्पर्कविहीन रहेका छन्।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले बुधबारको बाढीपछि गोसाइँकुण्ड र कैलाश मानसरोवरतर्फ गएका पर्यटकमध्ये १६ देशका २६१ जनालाई विभिन्न कम्पनीमार्फत उद्धार गरिएको जानकारी दिए। उद्धार गरिएकामध्ये भारतका १६७, चीनका ४०, युक्रेनका आठ, जर्मनी र माल्टाका चार-चार, इटाली र अमेरिकाका तीन-तीन, रसिया, स्पेन, स्वीजरल्यान्ड र टर्कीका दुई-दुई तथा बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका एक-एक जना छन्। यस्तै, देश तथा परिचय नखुलेका २१ पर्यटक पनि उद्धार गरिएको बोर्डले जनाएको छ।
हालसम्म पनि तीन सय २० पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले बताएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य सरोकारवाला निकायले प्रभावित क्षेत्रमा पर्यटकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। बाढीमा घाइते भएका र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डको भनाइ छ।
नेपाल पर्यटन बोर्डले पर्यटकको सुरक्षा नै पहिलो प्राथमिकता भएको भन्दै सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ। कुनै पनि जानकारी वा सहयोगका लागि बोर्डले टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न पनि भनेको छ।







