मुख्य सामग्रीमा जानुहोस्

बेपत्ता पालुङटारका ३२ नगरबासीको खोजीमा नवलपुर पुगे नगरप्रमुख चिन्तन

गोसाइँकुण्ड जाने क्रममा बाढीले बस बगाउँदा बेपत्ता भएका पालुङटारका ३२ जनामध्ये तीन जनाको शव नवलपुरमा फेला परेको छ । खोजीका लागि नगरप्रमुख विवश चिन्तन नवलपुरका अस्पताल पुगेका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
बेपत्ता पालुङटारका ३२ नगरबासीको खोजीमा नवलपुर पुगे नगरप्रमुख चिन्तन
Nagariknetwork

गोरखाको पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन बाढीमा बेपत्ता आफ्ना नगरबासीको खोजी गर्न शनिबार नवलपुरका अस्पताल पुगेका छन् । उनले नवलपुरका विभिन्न अस्पतालमा पुगेर बेपत्ता नागरिकको अवस्थाबारे जानकारी लिएका हुन् ।

गोसाइँकुण्ड तीर्थयात्रामा जान बुधबार पालुङटारबाट तीनवटा सवारी निस्केका थिए । भोटेकोशीमा आएको बाढीका कारण तीमध्ये ३८ जना सवार एउटा बस त्रिशूली नदीमा बगाएको थियो । नगरप्रमुख चिन्तनका अनुसार उक्त बसबाट ६ जना जोगिएका छन् भने ३२ जना बेपत्ता भएका छन् ।

उनले दुईवटा इभी र एउटा बसमा सवार भएर तीर्थयात्रीहरू निस्केको बताए । एउटा इभी बाढी काट्न सफल भएको र अर्को फर्किएर आएको उनको भनाइ छ । बसलाई भने बाढीले बगाएको हो । बेपत्ता भएकामध्ये ३० जना पालुङटार नगरपालिकाका र दुई जना उनीहरूकै आफन्त भानु नगरपालिकाका रहेको चिन्तनले बताए ।

एउटै टोलका धेरै नगरबासी बेपत्ता भएकाले उनीहरूको खोजी गर्ने आफन्तसमेत नभएको अवस्था रहेको उनको भनाइ छ । कतिपय घरमा छोरीज्वाइँ आएर बसेको उनले सुनाए ।

बेपत्ता ३२ जनामध्ये तीन जनाको शव नवलपुरमा भेटिएको र २९ जनाको अवस्था पत्ता नलागेको नगरप्रमुख चिन्तनले जानकारी दिए । खोजीका लागि नगरपालिकाका सम्पूर्ण स्रोतसाधन प्रयोग भइरहेको र कतिपय ठाउँमा निजी क्षेत्रका सवारीसाधनसमेत परिचालन गरिएको उनले बताए । नारायणी नदीले बगाएर ल्याएका शव नवलपुरका अस्पतालमा राखिएको जानकारीपछि आफू त्यहाँ पुगेको उनको भनाइ छ ।

पालुङटारका नगरप्रमुख मात्र होइन, विभिन्न जिल्लाबाट आफन्त गुमाएका परिवार पनि शव पहिचानका लागि नवलपुरका अस्पताल धाइरहेका छन् । प्रहरीले सञ्चालन गरेको बेवारिसे शव पहिचानसम्बन्धी सूचना तथा सहायता कक्षमा आफन्त खोज्नेहरूको उल्लेख्य उपस्थिति रहेको प्रहरीले जनाएको छ । शवको फोटो हेरेर पहिचान गर्ने क्रममा अस्पतालमा भीड लागेको छ ।

यसैबीच, आफन्तको खोजी तथा शव पहिचानका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुगेका पीडित परिवारका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले निःशुल्क खानाको व्यवस्था गरेको छ । महासंघका महासचिव वासुदेव गिरीका अनुसार अस्पतालको चमेनागृहमार्फत बिहान र बेलुकाको खाना तथा दिउँसोको खाजा उपलब्ध गराइनेछ ।