काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित रसुवाबाट ८८३ जनालाई उद्धार गरेको छ । उद्धार गरिएकामध्ये माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना पनि रहेका छन् ।
सेनाका अनुसार जिल्लाका विभिन्न स्थानमा बाढीका कारण समस्यामा परेकाहरूलाई सुरक्षित स्थानमा पुर्याइएको हो । सुरुङभित्र फसेकाहरूलाई विशेष उद्धार टोलीले निकालेको बताइएको छ ।
तर, अझै १०० भन्दा बढी व्यक्ति सो सुरुङभित्रै फसेको अवस्थामा रहेका छन् । उनीहरूको उद्धारका लागि कार्य जारी रहेको सेनाले जनाएको छ ।
रसुवामा आएको बाढीपछि नेपाली सेनाले तत्काल उद्धार सुरु गरेको थियो । उद्धार सकिएपछि मात्रै क्षतिको पूर्ण विवरण आउने बताइएको छ ।







