मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशीको बाढी चितवन आइपुग्दा घट्यो, कृष्णभीरमा सडक भासिएर पृथ्वीराजमार्ग अवरुद्ध

भोटेकोशी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव चितवन आइपुग्दा घटेको छ । पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भोटेकोशीको बाढी चितवन आइपुग्दा घट्यो, कृष्णभीरमा सडक भासिएर पृथ्वीराजमार्ग अवरुद्ध
Nagariknetwork

भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहानै आएको बाढीको बहाव चितवन आइपुग्दा घटेको छ । बिहान ७ बजे बाढीको बहाव मुग्लिन कटेको थियो ।

बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सचित कर्मचार्यका अनुसार त्रिशूली नदीमा अहिलेको पानीको बहाव बाढी आउनुअघिको तुलनामा तीनदेखि तीन दशमलव पाँच मिटर बढी रहेको छ । उनले आजको बाढी नारायणीमा मिसिएपछि बहाव दुईदेखि दुई दशमलव पाँच मिटरसम्म थप बढ्न सक्ने अनुमान गरेका छन् ।

नारायणीको देवघाट मापन केन्द्रमा बाढी आउनुअघि पानीको बहाव छ मिटर थियो । सो स्थानमा बहाव नौ मिटर पुगेपछि खतरोन्मुख अवस्था मानिने भएकाले हाल आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताएका छन् । तर, पहिलेको तुलनामा नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन उनले आग्रह गरेका छन् ।

यसैबीच, पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले सडक भासिएपछि चितवनतर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने सवारीसाधनलाई सुरक्षित स्थानमा रोकिएको जानकारी दिएका छन् ।

यसअघि भोटेकोशीमा पुनः बाढी आएको खबर फैलिएसँगै बिहान ४ बजेपछि रोकिएको सडक ७ बजेदेखि खुलेको थियो । अहिले भने पुनः सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले बताएका छन् ।