भदौ १४, कास्की । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १५ जनाको शव पहिचान भएको छ। आइतबारसम्म ती शव सम्बन्धित परिवारका सदस्यले बुझिसकेका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिचान, कानुनी प्रक्रिया र पोस्टमार्टम सकिएपछि मात्र शव आफन्तलाई बुझाइएको हो। बुझेका शवमध्ये १४ जना पुरुष र एक जना महिला छन्।
आफन्तले बुझेकाहरूमा चितवनका ३६ वर्षीय सत्यसुन्दर प्रजापति, अर्घाखाँचीका ४५ वर्षीय नारायणबहादुर थापा, मकवानपुरका ३६ वर्षीय उद्धव खड्का, नवलपरासी पश्चिमका ३७ वर्षीय यादव भण्डारी, इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी र धादिङ घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय सञ्जोग घर्तीमगर रहेका बरालले जानकारी दिए। यसैगरी नुवाकोटकी ५६ वर्षीया शारदा ढकाल, गोरखाका ५५ वर्षीय यमबहादुर थापा, पाल्पा घर भई रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक हवल्दार ३४ वर्षीय दीपेन्द्र विष्ट, नुवाकोटका पाँच वर्षीय प्रतिन्स तामाङ, रसुवाका प्रभास भनिने पुरुषोत्तम रैला, सप्तरीका २८ वर्षीय सन्तोष चौधरी, काभ्रेपलाञ्चोकका ४६ वर्षीय डिकबहादुर कायस्थ, गोरखाका ४० वर्षीय केदार पण्डित र काठमाडौँका ३४ वर्षीय राजु सुनारको शव पनि आफन्तले बुझेका छन्।
भोटेकोशी बाढीपछि धादिङ, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न भेगमा भेटिएका कूल १०२ शव पहिचान तथा कानुनी प्रक्रियाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। जिल्ला प्रशासन कार्यालयका अनुसार मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाउने काम भइरहेको छ।
प्रतिष्ठानमा राखिएका शवमध्ये हालसम्म ५७ वटाको पोस्टमार्टम सकिएको अस्पताल प्रशासनले बताएको छ। साथै, सम्पर्कविहीन भएका व्यक्तिका आफन्तलाई प्रतिष्ठानमा गएर स्क्रिनमा शवको तस्बिर हेरी पहिचान गर्ने व्यवस्था मिलाइएको छ।







