बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण गर्न र उद्धार कार्यबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ सोमबार नुवाकोटको त्रिशुली पुगेका छन्। त्यहाँ उनले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमै रहेर उद्धारको समन्वय गरिरहेका गृहमन्त्री सुधन गुरुङसँग छलफल थालेका छन्।
सैन्य तालिम केन्द्रमा जलविद्युत् आयोजनाको सुरुङमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई उद्धारको पछिल्लो प्रगतिबारे ब्रिफिङ गरेका छन्। सोही क्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि मन्त्री श्रेष्ठसँगै नुवाकोट पुगेका छन्।
ब्रिफिङ सकिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत् आयोजनाको उद्धारस्थल निरीक्षण गर्न जाने कार्यक्रम छ। उनले बाढीबाट प्रभावित पीडितका परिवारसँग पनि छलफल गर्नेछन्।







