टिमुरेको बगरमा तीन दिनसम्म माटोमुनि पुरिएको अवस्थामा भेटिएकी पाँच वर्षीया मनीषा अहिले काठमाडौंको टिचिङमा उपचाररत छिन्। उपचारका क्रममा उनले आमाबुवा चिने पनि बोल्न भने सकेकी छैनन्। गत बुधबारको बाढीमा छोरीसहित घर बगाएका मगर दम्पतीसँग चार दिनपछि उनको भेट भएको हो।
बुधबार बिहान मनीषा स्कुल जाने तयारीमा थिइन्। बुवा लोकबहादुर बारीमा धनियाँ टिप्न गएका थिए भने आमा गीता बैंकमा काममा गइसकेकी थिइन्। अचानक आएको बाढीले हेर्दाहेर्दै छोरी र घर बगायो। लोकबहादुर भागेर ज्यान जोगाए भने बैंकमै काम गरिरहेकी गीता पनि सुरक्षित स्थानतिर भाग्न सफल भइन्।
आफ्नै आँखा अगाडि छोरी बगेको देखेका लोकबहादुरलाई छोरी जीवित होलिन् भन्ने आशा थिएन। उनले दुई दिनसम्म नदी किनार, धुन्चेको उद्धार केन्द्र र सशस्त्र प्रहरीले संकलन गरेका शवहरूमा छोरी खोजे। कतै नभेटेपछि शुक्रबार करिब तीन बजेतिर उनी निराश भएर काठमाडौंतिर लागे।
त्यही दिन साँझ सशस्त्र प्रहरीको टोलीले टिमुरे बगरमा बच्चा रोएको आवाज सुन्यो। आवाज पछ्याउँदै खोज्दा मनीषा लेदो माटोभित्र पुरिएको अवस्थामा भेटिइन्। फलामे डन्डीजस्तो संरचनामा उनको टाउको अड्किएको थियो। उद्धार टोलीले होसियारीपूर्वक निकाल्दा मनीषा रोइन्, तर थप बोल्न सकिनन्।
शनिबार बिहान बैंककै एक कर्मचारीले गीतालाई फोन गरेर एउटा बालिका उद्धार गरिएको र आफ्नी छोरी हो कि भनेर सोधिन्। फोटो हेरेर उद्धार गरिएकी बालिका मनीषा भएको पुष्टि भयो। थप उपचारका लागि सोही दिन मनीषालाई टिचिङ ल्याइयो। टिचिङ पुगेका आमाबुवालाई देखेर मनीषाले चिन्ने गरे पनि सामान्य कुराकानी गर्न सकेकी छैनन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार मनीषामा मानसिक आघात र निमोनियाको समस्या देखिएको छ। मानसिक रूपमा आघात परेकाले घटनाबारे उनीसँग कुरा नगर्न चिकित्सकले सुझाव दिएका छन्। आमा गीताका अनुसार मनीषाले भोक लागेको र आफूलाई चिनेको जस्ता सामान्य कुरा मात्र भन्ने गरेकी छन्।
बाढीले बगाउनुअघि छोरी पूर्ण रूपमा स्वस्थ रहेको र पाँच वर्षयता कुनै रोगले नछोएको भन्दै गीताले छोरी छिट्टै निको हुने विश्वास व्यक्त गरिन्। उनले छोरीलाई कहिल्यै ज्वरोसमेत नआएको पनि बताइन्।
आँखै अगाडि बगेकी छोरी चार दिनपछि जीवित भेटिँदा मगर दम्पतीमा खुसी छाएको छ। आमा गीताले यतिखेर संसारै जितेझैं लागेको बताइन्। साथै उनले ज्यानको बाजी थापेर छोरी उद्धार गर्ने सशस्त्र प्रहरीलाई धन्यवाद दिएकी छन्।







