काठमाडौँ, अगस्ट ३१। कृष्ण भीरमा पृथ्वी राजमार्गको करिब १०० मिटर भाग धसिएपछि अधिकारीहरूले वैकल्पिक मार्गको खोजी थालेका छन्। त्रिशूली नदीले सडकको आधार कटान गर्दै गएकाले तत्काल मर्मत सम्भव नरहेको जनाइएको छ।
प्रभावित खण्ड आइतबार बिहानदेखि नै निरन्तर धसिरहेको छ। नदीले सडकको जग कटान गर्दा क्षति अझ बढ्दै गएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका अधिकारीहरूले बताएका छन्। सडकको छेउको भीरमा चिरा देखिएको छ भने पैदल यात्रुलाई रोकिएको छ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार क्षतिको मात्रा अझै बढिरहेको छ। सडक तत्काल मर्मत गर्न नसकिने भएकाले विज्ञ टोलीले वैकल्पिक मार्गको अध्ययन थालेको उनले जानकारी दिए।
पश्चिम खण्ड प्रमुख डिभिजनल इन्जिनियर सजना अधिकारीले नदीले सडकको आधार कटान गरिरहेकाले थप कति भाग भत्किन्छ भन्ने ठ्याक्कै अनुमान गर्न नसकिने बताइन्। क्षतिग्रस्त भागको माथिल्लो भीरको अवस्था पनि मूल्यांकन भइरहेको छ। माथिल्लो भागमा बस्ती रहेकाले भीर काट्न सम्भव नदेखिएको उनको भनाइ छ।
तत्काल पुनर्स्थापना सम्भव नभएपछि बेनीघाट–आरुघाट–गोरखा र गल्छी–सुनौलाबजार–धादिङबेसी–सल्यान्तर–गोरखा लगायतका वैकल्पिक मार्गको अध्ययन भइरहेको छ। साथै, छिटो मर्मत गरेर तुरुन्तै सञ्चालनमा ल्याउन सकिने सडकको पनि खोजी भइरहेको छ।
पूर्वतर्फबाट आउने सवारी साधनका लागि मकवानपुर हुँदै जाने बाटो उपयुक्त हुन सक्ने अनुमान गरिएको छ। पश्चिम नेपाल र पोखरातर्फ जाने सवारी साधनका लागि गोरखा हुँदै वैकल्पिक मार्गको सम्भावनाबारे खोजी भइरहेको छ।
पृथ्वी राजमार्ग काठमाडौं जोड्ने प्रमुख मार्ग हो। एलपीजी ग्यासजस्ता अत्यावश्यक सामग्री बोक्ने ठूला सवारी साधनसमेत यही बाटो हुँदै आवतजावत गर्छन्। दैनिक करिब १४ हजार सवारी साधन यो राजमार्ग प्रयोग गर्ने गरेकाले यसको अवरोधले काठमाडौंको यातायात र आपूर्तिमा ठूलो असर पर्ने देखिएको छ।
कृष्ण भीर विगतमा पनि यस राजमार्गको समस्याग्रस्त क्षेत्र थियो। तर, पछिल्ला वर्षहरूमा मर्मत र पहिरो नियन्त्रणका काम भएपछि समस्या केही कम भएको थियो।







