काठमाडौं, भदौ १५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भोटेकोसी बाढीबारे ब्रिफिङ गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतलनिवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा उनले रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्याएको क्षतिबारे जानकारी गराउँदै प्रभावितको उद्धार र राहतका लागि भइरहेका प्रयासबारे पनि राष्ट्रपतिलाई ब्रिफिङ गरेको बताइएको छ।
यसअघि सोमबार नै लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेट गरेका थिए। प्रधानमन्त्रीसँगको सोही भेटपछि उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन्।
लामिछानेले प्रधानमन्त्रीसँगको भेटमा सरकारले गरिरहेका कामबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीबाट प्राप्त जानकारीका आधारमा उनले राष्ट्रपतिलाई बाढी, भोटेकोसीमा भएको क्षति तथा राहत कार्यबारे ब्रिफिङ गरेको बुझिएको छ।







