त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं सडकमा सवारी चाप बढेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै मकवानपुरको स्थानीय प्रशासनले आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनाअनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन हेटौंडाबाट काठमाडौंतर्फ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग हुँदै जानुपर्नेछ। काठमाडौंबाट हेटौंडा आउने सवारीहरूले भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी बाटो प्रयोग गर्नुपर्ने प्रशासनको भनाइ छ।
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधनको संख्या बढेको उनले बताए।
त्यस्तै, मकवानपुरको त्रिभुवन राजपथनजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको औंल्याउँदै प्रशासनले इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई सो बाटो नप्रयोग गरी नजिकैको डाइभर्सनबाट सञ्चालन गर्न अनुरोध गरेको छ।
नयाँ मार्ग व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम र लामो समयसम्म सवारी रोकिनुपर्ने अवस्थाको अन्त्य हुने प्रशासनको विश्वास छ। तोकिएको व्यवस्थाको पालना गरी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन चालक, यातायात व्यवसायी तथा यात्रुहरूलाई प्रशासनले आग्रहसमेत गरेको छ।







